

सुन्दरबजार । शिवरात्रिमा रातभर उभिएर महादेवको नाउँमा बत्ती बाल्दा सन्तान प्राप्ति हुने विश्वासका कारण लमजुङको ईशानेश्वर महादेव मन्दिरमा बत्ती बाल्न आज बुधवार देशका विभिन्न स्थानबाट भक्तजनहरु करापुटार आइपुगेका छन् ।
लमजुङ र कास्कीको सिमानामा पर्ने ईशानेश्वरलाई सन्तानेश्वर महादेवको नामले समेत चिनिन्छ । यहाँ बर्सेनि हजारौँले भक्तजनले ठाडो बत्ती बाल्ने गर्दछन् । सन्तान प्राप्तिका लागि बत्ती बाल्नेहरु सन्तान प्राप्त भएपछि आफ्ना सन्तान देखाउनसमेत यहाँ आउने गर्छन् ।
नवलपुर देखि ठाडो बत्ती बाल्न आउनुभएकी शान्ता बिष्टले ईशानेश्वरको महिमा सधैँ सुन्ने गरेको र यसपटक आफैँ आएको बताउनुभयो । उहाँको बिहे भएको सात बर्ष भएपनि सन्तान नभएपछि सन्तान प्राप्ति हुन्छ भन्ने बिश्वासले दम्पत्तिसहित आएको शान्ताले बताउनुभयो ।
त्यसैगरी गोरखाकी विपना थापाले आफू तेस्रो पटक ईशानेश्वर आएको बताउनुभयो । दुई बर्ष अगाडि श्रीमानसहित यहाँ आएर ठाडो बत्ती बालेपछि गतवर्ष छोरो जन्मिएपछि यसपटक नौ महिनाको छोरो देखाउन आएको उहाँले बताउनुभयो ।
रातभर जाग्राम रहनेलाई मनोरञ्जन प्रदान गर्न विभिन्न किसिमका कार्यक्रम आयोजना गरिने ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले जनाएको छ । यस वर्षदेखि मन्दिर परिसरमा १०८ धारा र गौरीकुण्डसमेत निर्माण गरिएकाले मेला भर्नेको सङ्ख्या वृद्धि भएको समितिले जनाएको छ ।
लमजुङ, तनहुँ, गोरखा, स्याङ्जा, चितवन, कास्की, बागलुङ, काठमाडौँ लगायतका जिल्ला र भारतबाट समेत यहाँ भक्तजन आएका छन् । यस वर्ष दुई दिनसम्म सञ्चालन हुने गरी खुल्ला भजन प्रतियोगितासमेत आयोजना गरिएको छ । रासस
प्रतिक्रिया