logo
२ चैत्र २०८१, शनिबार

टीकापुरलाई गुलाबको सहर बनाउने अभियान सुरु

टीकापुरलाई गुलाबको सहर बनाउने अभियान सुरु

टीकापुर । प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको सहर बनाउने अभियान सुरु गरिएको छ । टीकापुरमा शुक्रवार आयोजित एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले गुलाबको बिरुवा रोपेर अभियानको औपचारिक सुरुआत गर्नुभयो ।

मन्त्री चौधरीले टीकापुरलाई गुलाबको सहर बनाउने अभियानको सुरुआत गर्नु मात्र ठूलो कुरा नभएको र त्यसलाई व्यवस्थित गर्नेतर्फ ध्यान दिन नगरपालिकालाई सुझाव दिनुभयो । उहाँले टीकापुर बजारलाई गुलाबको सहर बनाउँदै गर्दा टीकापुर पार्कलाई ओझेलमा पार्न नहुने बताउनुभयो ।

टीकापुरलाई गुलाबको सहर बनाउने अभियानलाई सहयोग पुगोस् भनी सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रले ५ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

नगरप्रमुख रामलाल डंगौरा थारूले टीकापुरलाई गुलाबको सहर बनाउने अभियानमा टीकापुर नगरपालिकाको पैसा खर्च नगरेरै श्रमदान तथा अरूको सहयोगबाट गुलाब रोप्न लागेको र त्यसमा सहयोग गर्न सबैलाई अपिल गर्नुभएको छ ।

अभियानको पहिलो दिन टीकापुर नगरपालिकाको प्राङ्गणमा र खडक चोकदेखि जमरा पुलबीचको भागमा गुलाबका बिरुवा रोपिएका छन् । गुलाब रोप्ने अभिायनमा विभिन्न विद्यालय र समुदायले श्रमदान गरेका छन् । रासस

TOP