logo
३० माघ २०८१, बुधबार

रविसहित १५ जनाविरूद्ध चितवनमा पनि मुद्दा दर्ता

रविसहित १५ जनाविरूद्ध चितवनमा पनि मुद्दा दर्ता

भरतपुर । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसहित १५ जनाविरूद्ध चितवन जिल्ला अदालतमा मंगलवार मुद्दा दर्ता भएको छ ।

व्यक्तिबाहेक ६ वटा संस्थाविरूद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ । प्रतिवादीमा लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरूङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअली सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरूङ र प्रगति श्रेष्ठ रहेको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिनुभयो ।

यसअघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । त्यो समयमा लामिछाने नाम किटान गरिएको थिएन । मंगलवार दर्ता भएको मुद्दामा लामिछानेसहित १५ जना प्रतिवादी छन् भने गोर्खा मिडिया प्रालि, साहरा बचतसहित छ वटा संस्था रहेका हुन् ।

साहारा सहकारीबाट रकम गएका पाँच कम्पनीमा गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेसनल प्रालि, जीवि ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि र नेचर नेष्ट प्रालि रहेका सूचना अधिकारी विश्वकर्माले जानकारी दिनुभयो ।

मुद्दा दायर भएका कूल ३२ जनामध्ये १२ जनाविरूद्ध ठगी र सङ्गठित अपराधमा र २० जनालाई ठगीमा मुद्दा दर्ता गरिएको हो । सङ्गठित अपराध र ठगीमा प्रतिवादी कायम भएकाहरू जीवि राई भन्ने जीतेन्द्रबाबु राई, हेमन्त अधिकारी, सागर केसी, आशिष आनन्द, अनन्तबाबु राई, भूपेन्द्र राई, देवेन्द्रबहादुर राई, दिनेश रोक्का, कुमार रम्तेल, छविलाल जोशी, दीपक लामा र नेत्र बास्तोला रहेका छन् ।

अघिल्लो पटक दर्ता भएका १७ जनाको पनि बयान लिइएको छैन । जिल्ला सरकारी वकिल कार्यालय चितवनले दायर गरेको पूरक अभियोग मंगलवार दर्ता गरिएको हो । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगी भएको भनिएको जम्मा रकम ५२ करोड ३२ लाख ८५ हजार ३०८ दशमलव ४७ रूपैयाँ रहेको छ ।

हाल जोहरी परेको रकम ३८ करोड ९ लाख ७९ हजार १७७ क्षतिपूर्ति भराउन मागदाबी गरिएको विश्वकर्माले जानकारी दिनुभयो । बाँकी थप १४ करोड २३ लाख ६ हजार १३१ दशमलव ४७ जाहेरी परेका बखत पुनः पूरक अभियोग जाहेर हुनेगरी अभियोग दाबी गरिएको छ ।

बचतकर्तालाई भराउनुपर्ने क्षतिपूर्ति रकम विभिन्न छ वटा कम्पनीबाट साहारा चितवन बहुउद्देश्यीय सहकारीलाई दिलाउने भराउनुपर्ने रकम ४३ करोड ३२ लाख सात हजार ९२८ दशमलव ७५ रहेको छ ।

व्यक्तिगत रूपमा जीवि राईबाट रू ४१ लाख ३० हजार, असरफअली सिद्दिकीबाट  ३ करोड २० लाख र महेन्द्र भोटे भन्ने शिवबहादुर गुरूङबाट  २ करोड ६४ लाख भराइनुपर्ने मागदाबी छ । लामिछानेको हकमा ठगी मुद्दा दर्ता भएको छ तर बिगो दाबी गरिएको छैन । दर्ता हुन आएको अभियोगमा ३२ जना प्रतिवादी कायम गरी पाँच जनालाई अभियोगका साथ उपस्थित गराइएको छ । रासस

TOP