logo
३० माघ २०८१, बुधबार

सरकार अर्थतन्त्रलाई सुदृढ बनाउँदैछ : अर्थमन्त्री पाैडेल

सरकार अर्थतन्त्रलाई सुदृढ बनाउँदैछ : अर्थमन्त्री पाैडेल

काठमाडाैँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका समस्या चिन्दै चिर्दै अघि बढ्ने कोसिस गरिरहेको बताउनुभएको छ ।

राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको ६०औँ वार्षिकोत्सवलाई बिहीबार काठमाडाैँमा सम्बोधन गर्दै उहाँले दबाबमा रहेको अर्थतन्त्रलाई सुदृढ बनाउन केही सफलता हासिल भएको र थप उपलब्धिका लागि सरकार प्रयत्नशील रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री पौडेलले समग्र अर्थतन्त्रलाई चलायमान बनाउँदै उत्पादन र उत्पादकत्व वृद्धि तथा रोजगारी सिर्जनाबाट सबल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नेतर्फ सरकार अघि बढिरहेको स्पष्ट पार्नुभयो  ।

सरकार परिणाममुखी कामका लागि तीव्र गतिमा काम गर्न चाहन्छ भन्ने यसअघिका कामकारबाही र निर्णयबाट पुष्टि भइसकेको जनाउँदै उहाँले गुणस्तरीय सेवा प्रवाह र सुशासन, विदेशी लगानीलाई प्रोत्साहन गर्न अध्यादेशमार्फत ३२ कानुन संशोधन गरिएको स्पष्ट पार्नुभयो ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले केही बैङ्क र वित्तीय संस्था समस्याग्रस्त छन् भनेर फैलाइएको हल्लामा कुनै सत्यता नभएको बताउनुभयो ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले नवीन सोच र सङ्कल्पका साथ रावा बैङ्क आजको प्रतिस्पर्धी बजारमा आफूलाई अब्बल सावित गर्न सफल भएको बताउनुभयो  ।

देशभैभर दुई सय ९४ शाखा रहेको सो बैङ्कले ७७ वटै जिल्लामा ४६ लाखभन्दा बढी ग्राहकलाई बैङ्किङ सेवा दिँदै आइरहेको छ ।

चालु आवको पुस मसान्तसम्म बैङ्कको कुल निक्षेप रु चार खर्ब ५० अर्ब, कुल कर्जा सापट रु दुई खर्ब ८४ अर्ब, चुक्ता पुँजी रु १५ अर्ब ६३ करोड, कुल सम्पत्ति रु पाँच खर्ब २६ अर्ब तथा नेटवर्थ रु दुई अर्ब ५५ करोड रहेको सो अवसरमा जानकारी दिइयो ।

TOP