

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका लागि जरुरी भएकाले विभिन्न अध्यादेश ल्याइएको बताउनुभएको छ । सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ तथा सरोकार भएका पक्षसँगको सघन छलफलपछि अध्यादेश ल्याइएको उहाँले बताउनुभयो ।
सरकारको सिफारिसमा हालै राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएका अध्यादेशका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधवार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले जारी गर्नैपर्ने भएकाले बहुतै सावधानी र मेहनताका साथ अध्यादेश सिफारिस गरिएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरकार टिकाउने मात्रै हाम्रो काम होइन, सरकार त आफँ टिकिहाल्छ, यसलाई सफल बनाउनु र परिणाम दिनु हाम्रो मुख्य जिम्मेवारी हो ।” सत्तारुढ दलहरुको पूर्ण सहमतिमा यी अध्यादेश यस रुपमा आउन सक्नुले सरकारको सुशासन र विकासको प्रतिबद्धता ज्वलन्त रुपमा प्रकट भएको प्रधानमन्त्री ओलीको दावी छ ।
अध्यादेशका चर्चा र विरोधका वारेमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “राष्ट्रपतिबाट अध्यादेश रोकिएको हल्ला चलाइयो, भूमिसम्बन्धी अध्यादेश अध्ययनका क्रममा रहेको मात्रै थियो, रोकिएको थिएन । अध्यादेशको विरोध भयो भनेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबारे नक्कली विज्ञप्ति आयो । यी सबै भ्रमहरु चिरिएका छन् ।” सरकार ढल्यो भन्नेहरुका प्रयास विशाल नदीको किनारमा बसेर छेउबाट ढुङ्गा हानेर नदी छेक्ने प्रयास मात्रै भएको उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले सत्तारुढ दुवै दलका शीर्ष नेतृत्व र विज्ञसँगको सघन छलफल तथा उद्यमी, व्यवसायीको सुझाव समेतका आधारमा अध्यादेश ल्याइएको उल्लेख गर्दै अन्य विधेयकको तयारी भएको र संसद् सुरु भएको पहिलो दिनमै अध्यादेश पेस गर्ने तथा प्रतिस्थापन विधेयक ल्याएर ६० दिनभित्र पारित गर्ने बताउनुभयो । उहाँले यथोचित समयमा संसद् आह्वान हुने पनि जानकारी दिनुभयो ।
कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले अध्यादेशका विशेषता र आवश्यकताका सम्बन्धमा जानकारी दिनुभएको थियो । रासस
प्रतिक्रिया