

काठमाडौँ । प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिको सोमवारको बैठकमा सांसदहरूले सामाजिक सञ्जाललाई व्यवस्थित गराउने विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको ध्यानार्कषण गराउनुभएको छ ।
उहाँहरूले सूचना प्रविधिको विकासले वाक स्वतन्त्रतालाई सहज बनाए पनि यसलाई मर्यादित बनाउन आवश्यक रहेकामा जोड दिनुभयो ।
साेमबा सिंहदरबारमा बसेको बैठकमा सांसदहरूको जिज्ञासामा मन्त्री गुरुङले सामाजिक सञ्जाल नियमनसम्बन्धी मस्यौदा करिब अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयो ।
उहाँले मिडिया काउन्सिलसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा छलफल हुने क्रममा रहेको, ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ का सन्दर्भमा अवधारणा तयार हुँदै गरेको, सूचना प्रविधि र साइबर सुरक्षा विधेयक कानुन मन्त्रालयमा पुगेको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक एवं सांसद महेशकुमार बर्तौलाले सामाजिक सञ्जालको जथाभावी प्रयोगका कारण झुट्टा र भ्रामकसूचनाको समस्या बढ्दै गएकाले नियमन जरूरी भएको बताउनुभयो ।
सांसद नैनकला थापाले पछिल्लो समय सूचना प्रविधि युवाको मुख्य रोजाइ बन्दै गएकाले सरकारले यसमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सांसद सोविता गौतमले औषधिको विज्ञापन दिन नपाइने भनिए पनि सामाजिक सञ्जालमा जथाभावी विज्ञापन गरेर जनमानसमा गलत प्रभाव पारेका विषयमा ध्यानाकर्षण गराउनुभयो ।रासस
प्रतिक्रिया