

पोखरा । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राकृतिक स्रोत-साधनको समुचित प्रयोगबाटै मुलुकको आर्थिक विकास सम्भव हुने बताउनुभएको छ ।
बेनीमा आइतवारदेखि सुरु आठौँ म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला-२०८१ को उद्घाटन गर्नुहुँदै देउवाले जल, जमिन र जङ्गलको सदुपयोगबाट रोजगारी सृजना र आय-आर्जजनकाअवसर सिर्जना गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
उद्योग, व्यवसायीको पीरमर्का सम्बोधन गर्न र हकहितका लागि नेपाली कांग्रेस सधैँ साथमा रहने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माण, बेनीबजार संरक्षण योजना, मालढुङ्गा-बेनीलगायत सडक आयोजनामा आबश्यक बजेट व्यवस्था गर्न पहल गर्ने सभापति देउवाले प्रतिबद्धता जनाउनुभयो ।
चीन र भारतको व्यापारिक प्राचीन रेशमी मार्ग र ‘साल्ट ट्रेड रुट’का रुपमा परिचित कालीगण्डकी करिडोरको एक प्रमुख व्यापारिक केन्द्र बेनीको महत्वलाई झल्काउने तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।
म्याग्दी उद्योग वाणिज्य सङ्घको मूल आयोजनामा माघे सङ्क्रान्ति पर्वका अवसरमा महोत्सव आयोजना गरिएको हो ।
पुस २८ देखि माघ ८ सम्म सञ्चालन हुने महोत्सवमा एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र १० करोड रुपैयाँबराबरको व्यापारिक कारोबार हुने अनुमान गरिएको छ । रासस
प्रतिक्रिया