काठमाडाैँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरणमा नेपालले विश्वलाई सन्देश दिनुपर्नेमा जोड दिनुभएको छ ।
वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागद्वारा पार्टी कार्यालय सानेपामा शुक्रबार आयोजित वन, वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी कार्यपत्र प्रस्तुतिकरण कार्यक्रममा बोल्दै सभापति देउवाले डिजेल, पेट्रोलको प्रयोग घटाउनुपर्ने र विद्युतीय सवारीसाधन प्रयोगलाई बढाउनुपर्ने बताउनुभयो ।
उहाँले काठमाडौँ उपत्यकामा मात्रै विद्युतीय सवारीसाधनको प्रयोग बढाउन सके जलवायु परिवर्तनका असर न्यूनीकरणमा ठूलो उपलब्धि हुने धारणा राख्नुभयो ।
उहाँले देशमा ६० प्रतिशत जङ्गल बचाउन सकेमा मात्रै ठूलो मद्दत पुग्ने बताउनुभयो ।
पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्यायले नेपालले अन्तर्राष्ट्रियस्तरमा जलवायु परिवर्तनको मुद्दाको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जलवायु परिवर्तनको समस्या सृजना गर्नमा हाम्रो योगदान नगन्य भए पनि जलवायु सङ्कट समाधान गर्नमा, नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
प्रतिक्रिया