logo
४ माघ २०८१, शुक्रबार

सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्छौँ: सञ्चारमन्त्री

सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्छौँ: सञ्चारमन्त्री

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा महोत्सवको उद्घाटन गर्दै सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी रहेको बताउनुभएको छ ।

युनाइटेड क्लब पोखराद्वारा विहिवार आयोजित पोखरा महोत्सवको उद्घाटन कार्यक्रममा मन्त्री गुरुङले सूचना र सञ्चार प्रविधिको विस्तारलाई प्राथमिकतामा राख्दै सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न सञ्चार विधेयक ल्याउने तयारी गरिरहेको बताउनुभयो ।

सञ्चारमन्त्रीले शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार र सञ्चार क्षेत्रको विकासका साथै रोजगारीका अवसर सृजना गर्न सरकार प्रतिबद्ध भएर लागेको बताउनुभयो । सुशासन र राजनीतिक स्थिरताका लागि दुई ठूला दल मिलेर सरकार गठन गरेको उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री गुरुङले देशको अर्थतन्त्र सुधार गरेर जनतालाई विकासको अनुभूति दिन सरकार प्रयासरत रहेको बताउनुभयो । पर्यटकीय राजधानी पोखरामा पर्यटन पूर्वाधारसहित विकास निर्माणका काम गर्न जरुरी भएको उहाँको भनाइ थियो ।

गण्डकी प्रदेश प्राकृतिक र सांस्कृतिक रुपमा धनी भएकै कारण यहाँ पर्यटनको सम्भावना अत्यधिक रहेको उल्लेख गर्दै मन्त्री गुरुङले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्न जरुरी भएको बताउनुभयो । पोखराको फेवाताल संरक्षणमा विशेष ध्यान दिन जोड दिँदै उहाँले यहाँका तालहरुको संरक्षण गर्न आवश्यक बजेट विनियोजन गर्न जरुरी भएको बताउनुभयो ।

पोखराको ट्राफिक जामलाई कम गर्न समयमै पोखरामा भित्री चक्रपथ निर्माण गर्न आवश्यक भएको उल्लेख गर्दै मन्त्री गुरुङले त्यसका लागि काम अगाडि बढाउन गण्डकी प्रदेश सरकारलाई सुझाव दिनुभयो ।

महोत्सवको उद्घाटन कार्यक्रममा सांसद मनबहादुर गुरुङले गण्डकी प्रदेशलाई पर्यटकीय तथा सांस्कृतिक रुपमा विकस गर्दै यहाँको कला संस्कृति विश्वमा प्रवद्र्धन गर्न जरुरी भएको बताउनुभयो ।

सासंद दामोदर पौडेलले स्थानीय उत्पादनलाई बिक्री र प्रवर्द्धन गर्न गरिएका यस्ता महोत्सवबाट अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो । रासस

ताजा अपडेट
TOP