धनगढी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कैलालीको गेटामा प्रस्तावित शहीद दशरथचन्द विश्वविद्यालय सञ्चालनका लागि सरकारले गृहकार्य गरिरहेको बताउनुभएको छ ।
धनगढीमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले नेपालका अन्य ६ प्रदेशमा चिकित्साशास्त्रमा अध्यापन सुरु भइसकेको सन्दर्भमा अब सुदूरपश्चिम प्रदेशमा पनि उक्त कार्यक्रम सञ्चालन गर्नेगरी गृहकार्य भइरहेको जानकारी दिनुभयो ।
शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय बनाउनेसम्बन्धी विधेयक संसदीय समितिमा छलफलमा रहेकाले संसद्को आगामी अधिवेशनमा त्यसलाई प्रवेश गराइने मन्त्री पौडेलले बताउनुभयो ।
स्वास्थ्यमन्त्री पौडेलले विश्वविद्यालय सञ्चालनका लागि भौतिक पूर्वाधारसँगै अस्पताल सञ्चालन र अध्यापन पनि सुरु गर्नुपर्ने भएकाले त्यसका लागि नीति निर्माण गर्नुपर्छ भन्नुभयो । उहाँले “गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न सबै दल सहमत छन्, सरकार काठमाडौँ बाहिर पनि छ भन्ने पुष्टि गर्न पनि शहीद दशरथ चन्द विश्वविद्यालय स्थापना हुन आवश्यक छ ।”
विश्वविद्यालय सञ्चालनपछि मात्रै अस्पताल चल्छ र एमबिबीएसको पढाइ हुन्छ भन्ने कुरा नभएको बताउँदै स्वास्थ्यमन्त्रीले भन्नुभयो, “अहिले नै अस्पताल चलाउन सकिन्छ, यसका लागि छात्रवृत्तितर्फका १२ जना चिकित्सक र १८ जना नर्सलाई गेटामा पठाएर तत्काल अहोरात्र आकस्मिक सेवा र सघन उपचार सेवा सञ्चालन गर्न लागेका छौँ ।” रासस
प्रतिक्रिया