logo
१० माघ २०८१, बिहीबार

शेरा दरबारका दोषीलाई कारबाही गर्न प्रचण्डको आग्रह !

शेरा दरबारका दोषीलाई कारबाही गर्न प्रचण्डको आग्रह !

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको शेरा दरबार जग्गा हिनामिनामा गैरकानुनी काम गर्नेलाइ तत्काल कारबाही गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको विहिवारको बैठकमा अध्यक्ष दाहालले उक्त प्रकरणमा संलग्नलाई कारबाही गरी उक्त जग्गा सरकारका नाममा ल्याउन आफ्नो पूर्णसहयोग रहने स्पष्ट पार्नुभयो ।

“कानुन विपरित काम भएको छ भने तत्काल कारबाही गर्नुस् । जसरी ललिता निवासको जग्गा सरकारका नाममा फिर्ता ल्याइएको छ, त्यसरी नै शेरा दरबारको जग्गा पनि फिर्ता ल्याएमा मैले सरकारलाई धन्यवाद नै दिन्छु ।”

कुनै विषयमा छानबिन गर्दै जाँदा आफू नै संलग्न भएको भए पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ भनेको प्रसङ्ग स्मरण गर्दै उहाँले शेरा दरबारलगायत अन्य प्रकरणमा दोषी देखिएकालाई कारबाही गर्न आग्रह गर्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “मैले आफ्ना पार्टीका नेता दोषी देखिन्छन् भने छानबिनको दायरामा आउनुपर्छ भनेको थिएँ, शेरा दरबारमा गैरकानुनी काम भएको भए सरकारले कारबाही गर्नुपर्छ ।”

राज्य र सरकारको जमिन कुनै व्यक्तिले गैरकानुनीरुपमा आफ्नो नाममा ल्याउँछ भने जोकोही भए त्यसलाई कानुनको दायरामा ल्याइनुपर्ने उहाँको भनाइ थियो । रासस

TOP