logo
१० माघ २०८१, बिहीबार

स्याङ्जाबाट १ सिजनमा १ अर्ब १२ करोडको सुन्तला बिक्री

स्याङ्जाबाट १ सिजनमा १ अर्ब १२ करोडको सुन्तला बिक्री

वालिङ । यस वर्ष स्याङ्जाबाट १ अर्ब १२ करोड रुपैयाँ भन्दाबढिको सुन्तला बिक्री भएको छ । सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा १ अर्ब १२ करोड ४७ लाख १५ हजार २ सय भित्रिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष २० हजार ८४ दशमलव दुई मेट्रिक टन सुन्तला उत्पादन भएको हो । उत्पादन भएको सुन्तलामध्ये ९० प्रतिशत थोक मूल्यमा प्रतिकेजी रु ५६ का दरले बिक्री भएको उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षमा स्याङ्जामा सुन्तला बगैँचाको क्षेत्रफल २ हजार २ सय ८० हेक्टरमा विस्तार भएको छ । चालु आवमा प्रतिहेक्टरमा सुन्तलाको उत्पादकत्व १४.६६ टन भएको सूचना अधिकारी बुढाथोकीले जानकारी दिनुभयो ।

स्याङ्जाका सुपरजोन घोषणा हुनुपूर्व ८ सय ८७ हेक्टरमा फैलिएको सुन्तला बगैँचा सुपरजोन भएसँगै हालसम्म २ हजार २ सय ८० हेक्टरमा सुन्तला बगैँचा विस्तार भएको उहाँले बताउनुभयो ।

सुन्तलाका क्षेत्रमा सुपरजोन घोषणा भई कार्यान्वयनमा आएसँगै जिल्लामा सुन्तला उत्पादनतर्फ किसान थप आकर्षित भएर लागेका सुन्तला सुपरजोन सञ्चालक समिति स्याङ्जाका अध्यक्ष बोधराज अर्यालले बताउनुभयो ।

स्याङ्जामा साउनदेखि फागुनसम्म विभिन्न प्रजातिका सुन्तला उत्पादन हुँदै आएका छन् । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-१ थापाथोकमा रहेको त्रिपुत्र बागवानी कृषि फार्मले यस वर्षमात्र  ५ करोडका सुन्तलाको कारोबार गरेको छ ।

यस फार्मले भाटभटेनी सुपरमार्केटलगायत व्यावसायिक सङ्घसंस्थालाई भारी मात्रामा सुन्तला बिक्री गर्दै आएको छ । फार्मले यस वर्ष प्रतिकेजी न्यूनतम रु २५ देखि अधिकतम रु ८५ सम्मका दरले सुन्तला बिक्री गरिरहेको छ ।

स्याङ्जामा सुन्तला व्यवसायलाई मुख्य आम्दानीको सोतका रूपमा विकास गर्ने पद्धतिको विकास हुँदै गएको छ । जिल्लाका विभिन्न भागमा निर्वाहमुखी र घरायसी प्रयोजनका लागि गरिँदै आएको सुन्तला खेती विस्तार भएको छ । रासस

TOP