काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा मेलमिलापको महत्वको चर्चा गर्दै गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिले राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा मंगलवार आयोजना गरेको पार्टीको सयदिने अभियानको समापन गर्दै उहाँले सबै नेपाली एकताबद्ध भएर गणतन्त्रलाई सुदृढ बनाउनु आजको आवश्यकता भएको बताउनुभयो ।
सभापति देउवाले राष्ट्रिय मेलमिलापको नीतिबाट प्रेरित भएर नेपाली कांग्रेस मात्र नभई सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर राष्ट्रनिर्माणका काममा अघि बढिरहेका भन्दै यो एकतालाइ सधैँ अक्षुण्ण राख्नुपर्छ भन्नुभयो ।
पूर्वप्रधानमन्त्री देउवाले गणतन्त्रलाई सफल पार्न यसविरुद्धका गतिविधि निस्तेज पार्ने काममा मिलेर लाग्न आग्रह गर्नुभयो । उहाँले हिमाल, तराई, पहाड जुनसुकै स्थानका नेपालीबीच एकता र मेलमिलाप हुनुपर्नेमा जोड दिनुभयो ।
पार्टीका नेता कृष्णप्रसाद सिटौलाले देशको आर्थिक प्रगति अहिलेको आवश्यकता भएको बताउनुभयो । नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप नीतिअनुरुप सबै राजनीतिक दललाई एकाकार गरेर काम गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बानियाँले पार्टीलाई गुट-उपगुटबाट मुक्त गर्नुपर्छ भन्नुभयो । पार्टीले काठमाडौँका१० वटा निर्वाचन क्षेत्र,११ वटा स्थानीय तह र १३८ वटै वडामा सयदिने अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया