काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकमा लोकतन्त्र प्राप्तिपछि विभिन्न जातजाति र समुदायले आआफ्ना संस्कार र संस्कृतिको स्वतन्त्रतापूर्वक उपभोग गर्ने अवसर प्राप्त भएको बताउनुभएको छ ।
तमु ल्होसार मुल आयोजक समितिद्वारा आज सोमवार टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सवको उद्घाटन गर्दै उहाँले बहुजाति र बहुभाषी नेपाली समाजमा प्रजातान्त्रिक व्यवस्था प्राप्तिसँगै स्वतन्त्रतापूर्वक आफ्नो पहिचानलाई सुरक्षित र समृद्ध तुल्याउने मौका मिलेको बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “नेपालको पहिचान र अमूल्य निधिका रूपमा रहेको विभिन्न जातजातीका भाषा, वेशभूषा, रितिरिवाज, रहनसहन तथा संस्कार र संस्कृतिलाई वर्तमानमा सक्रियताका साथ जोगाउने र भविष्यका सन्ततीलाई हस्तान्तण गर्न आवश्यक छ ।” उहाँले महोत्सवले तमू समुदायको कला, संस्कृति, पहिचान कायम राख्न अत्यन्तै जागरूक रहेको कुरालाइ स्पष्ट पारेको धारणा राख्नुभयो ।
सो अवसरमा पूर्वमन्त्रीहरु देवप्रसाद गुरूङ, सीता गुरूङ, पार्वत गुरूङलगायतले कला, संस्कृति, वेशभूषा, नाचगान, चार्डपर्व मनाउने हिसाबले नेपालमा गुरूङ समुदाय समृद्ध रहेकाले यसको संरक्षण र सम्वर्द्धनमा सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।
तमु ह्युल छोज धिं गुरूङ राष्ट्रिय परिषद्का अध्यक्ष कर्णबहादुर गुरूङले संसारभर नै सहासिक जातिका रूपमा पहिचान स्थापित गरेको गुरूङ समुदायको चाडपर्व, भाषा तथा संस्कृतिको संरक्षमा सरकारलाई विशेष ध्यान पुर्याउन आग्रह गर्नुभयो ।
टुँडिखेलमा आयोजना गरिएको ल्होसार महोत्सवमा गुरूङ समुदायबाट समाजका विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरियो ।
गुरूङ समुदायको गण्डकी प्रदेशमा बाक्लो बसोबास रहेको छ । गुरूङ समुदायको रोदीलाई समुदाय चलाउने र ज्ञानको स्तर बढाउने महत्त्वपूर्ण संस्कार र संस्कृतिका रूपमा लिने गरेको पाइन्छ । गुरूङ समुदायले यस वर्षलाई गरूडको बिदाइ र सर्पको स्वागत गर्दै मनाएका छन् ।
महोत्सवका अवसरमा गुरूङ जातिको पहिचान, वेशभूषा र संस्कृति झल्कने झाँकी प्रस्तुतिका साथै समुदायको पहिचान र परिचय दिने सय बढी खानपिनसहितको प्रदर्शन कक्षको व्यवस्था गरिएको थियो । रासस
प्रतिक्रिया