पोखरा । अङ्ग्रेजी नयाँ वर्षको आगमनसँगै पोखरा गुलजार बनेको छ । जल, जमिन र आकाश लक्षित महोत्सवले स्वदेशी र विदेशी पर्यटक आकर्षित मात्रै गरेको छैन, यहाँको पर्यटकीय गतिविधि चलायनमान बनाएको छ ।
हाल यहाँ २६औँ संस्करणको सडक महोत्सव, बिवाइडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव र दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेस चलिरहेका छन् । क्रिसमस सकिएर नयाँ वर्षको रौनक सुरु भइसकेको पर्यटन राजधानी पोखरामा महोत्सवले थप गतिविधि बढाएका छन् । महोत्सवले पोखरालाई पर्यटकीय गन्तव्यका रूपमा विश्वसामु चिनाउन थप भूमिका खेल्ने विश्वास गरिएको छ ।
रेस्टुरेन्ट एन्ड बार एशोसिएशन (रेवान) पोखराले सन् १९९८ मा सुरु गरेको पोखरा सडक महोत्सव अहिले पोखराको ब्राण्डनै बनेको छ “सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ” भन्ने नारालाई जीवन्त बनाउँदै महोत्सवले हजारौँ पर्यटकलाई आकर्षित गरेको छ । लेकसाइडको तीन किलोमिटर क्षेत्र साङ्गीतिक कार्यक्रम, मौलिक झाँकी, वेषभूषा प्रदर्शनी र अन्तर्राष्ट्रिय खानाको प्रदर्शनीले भरिएको छ ।
रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार महोत्सवले आन्तरिक र बाह्य पर्यटकलाई पोखराको सांस्कृतिक र प्राकृतिक सौन्दर्यसँग परिचित गराउनुका साथै स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग पु¥याएको छ । यो महोत्सव नेपाली पर्यटनलाई अन्तर्राष्ट्रिय मानचित्रमा स्थापित गर्ने महत्वपूर्ण माध्यम बनेको उहाँको भनाइ छ ।
महोत्सवमा कृषि उत्पादन, हस्तकला, र वनस्पतिको प्रदर्शनी विशेष आकर्षण बनेको छ । स्थानीय किसान, व्यवसायी, र कलाकारले आफ्नो उत्पादन प्रदर्शन गर्दै नयाँ बजारको पहुँच पाएका छन् ।
विभिन्न जातजातिका परम्परा, साङ्गीतिक झाँकी र कला प्रदर्शनी प्रस्तुत गरेर सांस्कृतिक विविधतालाई उजागर गर्दै आएको महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको संयोजक विकास भट्टराईको भनाइ छ ।
पहिलो पटक आयोजना गरिएको बीवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सवले पोखराको पर्यटकीय महत्वलाई अझै उचाइमा पु¥याइएको छ । फेवातालको शिरानमा सुरु भइरहेको यो महोत्सवमा नेपालसहित १५ देशका पाइलटले सहभागिता जनाएका छन् । रङ्गिन र विभिन्न आकार र डिजाइनका १७ वटा भव्य बेलुन आकाशमा उडिरहँदा आकाश शृङ्गारिएको छ भने तालमा देखिने सुन्दर दृश्य अवर्णित छन् ।
पर्यटकले आकाशबाट हिमालय शङ्खला, हरियाली र फेवातालको सौन्दर्यको अनुभव गर्दै पोखरालाई नयाँ दृष्टिकोणबाट नियाल्न सकेको पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउनुहुन्छ ।
बेलुन महोत्सव, ड्रागन बोट रेस र सडक महोत्सवले पोखराको पर्यटकीय महत्वलाई नयाँ उचाइमा पु¥याउँदै पर्यटनमा नयाँ आयाम थपेको उहाँको भनाइ छ ।
बेलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेका अनुसार बेलुन महोत्सवले मनोरञ्जन मात्र होइन, साहसिक पर्यटनको नयाँ ढोका खोल्दै पोखरालाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्रविन्दु बनाउने प्रयास गरिरहेको छ ।
आइतवारदेखि फेवातालमा सुरु भएको दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेसले पोखरामा पर्यटनमा रौनक थपेको छ । नेपाल, चीन, र सिङ्गापुरका २० टोलीबीचको यो प्रतिस्पर्धाले खेलकुद र पर्यटनलाई जोड्ने कार्य गरिरहेको छ ।
पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, र नेपालस्थित चिनियाँ दूतावासको सहकार्यमा आयोजित महोत्सवले फेवाताललाई अन्तर्राष्ट्रिय खेलकुद गन्तव्यका रूपमा चिनाउने विश्वास लिइएको छ ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले महोत्सवका साहसिक गतिविधिको चर्चा गर्दै त्रिकोणीय महोत्सवले पोखराको सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य, स्थानीय उत्पादनलाई उजागर गर्दै अर्थतन्त्र र पर्यटनमा दीर्घकालीन योगदान पु¥याउने सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
पर्यटकीय राजधानी पोखरामा अहिले भइरहेका महोत्सवले साहसिक पर्यटनको सम्भावना र नेपाली पर्यटनको उज्ज्वल भविष्यप्रति सकारात्मक सङ्केत गरेको र दीर्घकालीन पर्यटनमा पनि प्रभाव पार्ने उहाँको भनाइ छ । रासस
प्रतिक्रिया