काठमाडौँ । गृह मन्त्रालय र काठमाडौँ विश्वविद्यालय (केयू)को मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्ययन-अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । गृह मन्त्रालयका विपद् महाशाखा प्रमुख डा टोकराज पाण्डे र विश्वविद्यालयका मानसिक स्वास्थ्य विभाग प्रमुख डा दीपक कुँवरले समझदारीपत्रमा आज हस्ताक्षर गर्नुभएको हो ।
त्यस अवसरमा गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालय र काठमाडौँ विश्वविद्यालयको प्रयासमा आत्महत्याका घटानालाई नियन्त्रण र न्यूनीकरणमा सहयोग पुग्ने धारणा राख्नुभयो । गृह मन्त्रालय र काठमाडौँ विश्वविद्यालयको प्रयासमा एक वर्षमा आत्महत्याका घटना ठूलो सङ्ख्यामा घट्ने गृहमन्त्री लेखकले विश्वास व्यक्त गर्नुभयो ।
गृहमन्त्री लेखकले मानसिक स्वास्थ्य विभागले टेलिमेडिसिनमार्फत त्यस्ता मान्छेलाई मनोपरामर्श दिने बताउनुभयो । आत्महत्या नियन्त्रण र न्यूनीकरणसम्बन्धी मानसिक स्वास्थ्य विभागले नेपाल प्रहरीलाई पनि आधारभूत तालिम दिने गृहमन्त्री लेखकले जानकारी गराउनुभयो । केही समयपछि आत्महत्यासम्बन्धी एउटा ‘एप’ विकास गरेर सबै कुरालाई एपमा समावेश गर्ने योजना रहेको पनि उहाँको भनाइ छ ।
आत्महत्या न्यूनीकरणबारे तीन महिनामा आवधिक मूल्याङ्कन गर्न गृहमन्त्री लेखकले निर्देशन दिनुभयो । “तीन महिनामा नेपाल प्रहरीले आत्महत्याको प्रयास गरेका कति मान्छेलाई मानसिक स्वास्थ्य विभागलाई जानकारी गरायो । कति जनालाई मानसिक स्वास्थ्य विभागले मनोपरामर्श दियो । हामीले कति मान्छेलाई जोगाउन सक्यौँ भनेर आवधिक रुपमा मूल्याङ्कन गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
विश्वविद्यालयका मानसिक स्वास्थ्य विभागका प्रमुख कुँवरले गृह मन्त्रालयसँग भएको सम्झौताले आत्महत्या न्यूनीकरणका लागि काठमाडौँ बाहिर पनि काम गर्ने अवस्था बनेको बताउनुभयो । गृह मन्त्रालयसँगको सहकार्यमा दूरदराजसम्म टेलिमेडिसिन मार्फत काम गर्दा राम्रो परिणाम पनि दिन सकिने उहाँको भनाइ छ । रासस
प्रतिक्रिया