काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसले विधिको शासन स्थापन गर्ने अभियानमा लागेको बताउनुभएको छ ।
आइतवार काठमाडौँ महानगरपालिका-३१ नयाँ बानेश्वरमा नेपाली कांग्रेसको एक सय दिने अभियानअन्तर्गत आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले विधिअनुसार सरकार सञ्चालन हुने भन्दै कानुनी शासन स्थापित गर्नु कांग्रेसको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो ।
उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “नेपाली कांग्रेस विधिको शासन स्थापना गर्न सदैव सक्रिय भएकाने लागेको पार्टी हो । विधि विपरीतको काम हामीले कल्पना पनि गर्दैनौँ ।” सम्पूर्ण काम कानुनी प्रक्रिया र विधि अनुसार हुने सन्दर्भलाई कार्यकर्ताले राम्रोसँग बुझेर पार्टीलाई बलियो बनाउनतर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कांग्रेस पूर्वमहामन्त्रीसमेत रहनुभएका उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “सङ्गठनलाई कसैले कमजोर बनाउनु हुँदैन । जनप्रतिनिधिले पनि नागरिकमैत्री कार्यसम्पादन गर्नु जरुरी छ । बोल्ने भन्दा पनि काम गरेर नतिजा देखाउने गरी सबै अघि बढ्नु आजको आवश्यकता हो ।” पार्टीका संरचनाले आ-आफ्नो तहमा जिम्मेवार भएर काम गर्नुको विकल्प नरहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया