काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अपराध नियन्त्रण, कानुन कार्यान्वयन र विपद् व्यवस्थापनमा तीनै तहका सरकार समन्वयात्मक ढङ्गबाट अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
बाग्मती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा विहिवार आयोजित ‘शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी अन्तर प्रदेशस्तरीय कार्यशाला गोष्ठी’मा उहाँले संविधानले दिएको जिम्मेवारी र दायित्व कार्यान्वयन गर्न मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
गृहमन्त्री लेखकले संविधानतः सहकारिता, समन्वय र सहअस्तित्वमा आधारित सङ्घीयता मुलुकले अङ्गीकार गरेको उल्लेख गर्दै तीनै तहको समन्वयमा प्रशासनिक कार्य अघि बढाइनुपर्नेमा जोड दिनुभयो । मुलुकको शान्ति सुरक्षाको अवस्थामा खासै ठूलो चुनौती नभए पनि अपराधका नयाँ आयामले चिन्ता थपेको बताउनुभयो ।
घृणाष्पद अभिव्यक्तिमार्फत समाजलाई गलत ढङ्गबाट प्रभावित गर्ने शृङ्खला बढिरहेको उल्लेख गर्दै उहाँले यसखालका अपराध नियन्त्रणमा कुनै सम्झौता नगरी निर्मम ढङ्गले प्रस्तुत हुनुपर्ने बताउनुभयो ।
जनताका प्रतिनिधिद्वारा निर्मित संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण आजको मुख्य कार्यभार भएको जनाउँदै उहाँले संविधानलाई असफल बनाउने छुट कसैलाई पनि नभएको बताउनुभयो ।
प्रतिक्रिया