ललितपुर । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको बताउनुभएको छ । उहाँले मानवअधिकार आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको बताउनुभयो ।
छयत्तरौँ मानवअधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज मंगलवार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले मानवअधिकारको रक्षा र आयोगको कार्य सञ्चालनका लागि भौतिक एवं आर्थिक स्रोत सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारमैत्री हुन नसकेका कानुन संशोधन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले वैदेशिक रोजगारीमा गएकाहरुको मानवअधिकार रक्षा संवेदनशील विषय भएकाले त्यसतर्फ सम्बद्ध सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
नेपालस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक (युएनडिपीका आवासीय प्रतिनिधि) हाना सिङ्गर हम्डेले कोप-२९ मा नेपालले निर्वाह गरेको भूमिका तथा सङ्क्रमणकालीन न्यायका निम्ति गरेका कामको सराहना गर्नुभयो ।
उक्त अवसरमा मानवअधिकार रक्षककको सशक्त भूमिका निर्वाह गर्नुभएका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘दयाराम स्मृति पुरस्कार’ प्रदान गरिएको थियो । त्यस्तै, वातावरणअधिकार रक्षामा योगदान गर्नुभएका धनुषाका लक्ष्मी महतोलाई पनि पुरस्कृत गरिएको थियो । दुवै पुरस्कारको राशि ५० हजार रुपैया छ । रासस
प्रतिक्रिया