सुर्खेत । गृहमन्त्री रमेश लेखकले सरकारको मुख्य उद्देश्य दिगो शान्ति, सुशासन कायम गर्नु र आर्थिक समृद्धि रहेको बताउनु भएको छ ।
गृह मन्त्रालयद्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सोमवार आयोजित ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’लाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले भ्रष्टाचार तथा अपराध नियन्त्रण र विधिको शासन कायम गर्न लाग्नुपर्ने र ती कुरामा कुनैपनि सम्झौता नहुने जिकिर गर्नुभयो ।
गृहमन्त्री लेखकले भन्नुभयो, “लोकतन्त्रमा अनुशासन र वितरण महत्वपूर्ण हुन्छ । अवसर, सम्भावना र अर्थ वितरण गर्दा जनतालाई सेवा प्रवाहमा सहजता दिन सक्नुपर्दछ ।” औपचारिकता बढी भएर उपलब्धि कम भएको उल्लेख गर्दै उहाँले हरेक गतिविधि छोटो तथा परिणाममुखी बनाउन जोड दिनुभयो ।
सङ्घीय सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सङ्घीय कानुन बनाउन थालेको तथा त्यसपश्चात् प्रहरी समायोजनको काम अगाडि बढ्ने गृहमन्त्रीले उल्लेख गर्नुभयो ।
अहिले पनि कर्णाली प्रदेशका सुरक्षा निकायका संरचना प्रदेश बाहिर भएको उल्लेख गर्दै गृहमन्त्रीले लेखकले स्थानीय तथा प्रदेश सरकारलाई जग्गाको व्यवस्था गर्न अनुरोध गर्दै भन्नुभयो, “कर्णाली प्रदेशको शान्ति सुरक्षालाई थप सुदृढ, सक्रिय, स्पष्ट र प्रभावकारी बनाउने कुरामा आवश्यक काम गर्छौँ ।”
दुई ठूला शक्ति एक ठाउँमा उभिनु मुलुकको आवश्यकता भएको जिकिर गर्दै गृहमन्त्रीले लेखकले संविधानको भावना अनुसार सङ्घीयता कार्यान्वयन गर्न आवश्यक भएको बताउनुभयो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानको भावना अनुसार सहअस्तित्व, सहकार्य र समन्वय कम भएको र यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानले व्यवस्था गरेबमोजिमका अधिकारलाई सुनिश्चित गर्न सकेमात्र मुलुकले अपेक्षित लक्ष्य पूरा गर्ने बताउनुभयो ।
प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृह सचिव गोकर्णप्रसाद दुवाडी, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको छ । रासस
प्रतिक्रिया