logo
२ जेष्ठ २०८२, शुक्रबार

आयोगका पदाधिकारी सिफारिस प्रक्रिया निष्पक्ष हुनुपर्नेमा जोड

आयोगका पदाधिकारी सिफारिस प्रक्रिया निष्पक्ष  हुनुपर्नेमा जोड

काठमाडौँ । सङ्क्रमणकालीन न्याय प्रक्रियालाई विश्वसनीय बनाउन निष्पक्ष, स्वतन्त्र र सक्षम व्यक्तिलाई पदाधिकारी सिफारिस गर्नुपर्नेमा सरोकारवाला पक्षले जोड दिएका छन् ।

संवैधानिक तथा न्यायिक पत्रकार मञ्च र एम्नेष्टी इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा शुक्रबार आयोजित ‘सङ्क्रमणकालीन न्याय प्रक्रियामा विश्वसनीयता’ विषयक अन्तरक्रियामा मानवअधिकारकर्मी चरण प्रसाईँले पदाधिकारी निष्पक्ष, स्वतन्त्र र सक्षम व्यक्तिलाई छनोट गर्नुपर्ने बताउनुभयो ।

उहाँले नियुक्ति गर्ने पदाधिकारी उपयुक्त भएनन भने सबै नेपालीलाई लज्जाबोध हुने धारणा राख्नुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सूर्य ढुङ्गेलले दुवै आयोगमा पदाधिकारी सिफारिस प्रक्रिया निष्पक्ष ढङ्गले गर्नुपर्ने बताउनुभयो ।

उहाँले पीडितलाई न्यायको पर्खाइ लामो भएको र सिफारिस समितिले राजनीतिक हस्तक्षेपबिना काम गर्न ध्यान दिनुपर्नेमा सुझाव दिनुभयो ।

पूर्वमन्त्री तथा वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले सिफारिस प्रक्रिया विश्वसनीय बनाउनका लागि रोजगारीका लागि नभएर स्वतन्त्र र सक्षम व्यक्तिलाई पदाधिकारी बनाउनुपर्ने बताउनुभयो ।

मानव अधिकारकर्मी मन्दिरा शर्माले कुनै दलका व्यक्तिलाई व्यवस्थापन गर्न आयोगमा नपठाउन र सक्षम व्यक्ति सिफारिस गर्नका लागि खबरदारी आवश्यक भएको बताउनुभयो ।

सिफारिस समितिले जवाफदेही भएर पदाधिकारी छनोट गर्नुपर्ने र शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाल ल क्याम्पस उपप्राध्यापक रुक्मणि महर्जनले सङ्कमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पु¥याउन उपयुक्त पदाधिकारी सिफारिस गर्नु नै प्रमुख भएको बताउनुभयो । उहाँले पदाधिकारी नियुक्ति पारदर्शी, नैतिकता तथा इमानदारितामा बढी ध्यान दिनुपर्ने र उपयुक्त पदाधिकारी नियुक्त हुनेमा आशावादी भएको बताउनुभयो ।

गम्भीर मानवअधिकार उल्लङ्घन पीडितहरुको राष्ट्रिय सञ्जालका अध्यक्ष अध्यक्ष राम भण्डारीले पदाधिकारी सिफारिस प्रक्रिया विश्वसनीय बनाउन आवश्यक रहेको र पीडितलाई न्याय दिने खालको पदाधिकारी आउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले अहिले ९० प्रतिशत पीडित कुन अवस्थामा छन् भन्ने बारेमा खोजी नै नभएको गुनासो गर्नुभयो ।

द्वन्द्वपीडित महिला सञ्जालका अध्यक्ष सिर्जना श्रेष्ठले लैङ्गिक सम्वेदनशीलतालाई ध्यानमा राखेर पदाधिकारी नियुक्त गर्नुपर्ने र त्यसले द्वन्द्वमा महिलामाथि भएको ज्यादतीलाई समेट्नुपर्नेमा जोड दिनुभयो ।

द्वन्द्वपीडित महिला सञ्जालका महासचिव सुशिला चौधरीले पीडितको नजरमा जागिर खाने दुई थान आयोग मात्रै देखिँदै आएको विगतको नजिर अब नहो¥याउनका लागि सर्वस्वीकार्य पदाधिकारी सिफारिस गर्नुपर्ने भनाइ राख्नुभयो ।

एम्नेष्टी इन्टरनेशन नेपालका निर्देशक निराजन थपलियाले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई विश्वसनीय बनाएर न्यायको लामो पर्खाइमा रहेका पीडितलाई न्याय हुने गरी सिफारिस समितिबाट पदाधिकारी नियुक्त गर्न मिलोस भन्ने उद्देश्य कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पूरा भइसकेको छ । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिस हुने चरणमा छ । सिफारिस समितिमा पदाधिकारीका लागि एक सय ५६ व्यक्तिको आवेदन परेको छ । रासस

TOP