काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गर्नुभएको छ । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका लागि आज सोमवार उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले बिदाइ गर्नुभयो ।
बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले आफ्ना चिनियाँ समकक्षी लीसँगको भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार विमर्श गर्नुहुनेछ ।
प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समिति अध्यक्ष झाओ लेजीले भेट गर्नुहुने कार्यतालिका छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रम तथा बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी लगायत सात दर्जजबढीको सहभागी हुनुहुन्छ ।
प्रतिक्रिया