

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रवार चीनको सिचुवान प्रान्तस्थित छन्दुमा रहेको नेपाली महावाणिज्य दूतावासको निरीक्षण गर्नुभएको छ । महावाणिज्यदूत सुरेश राउतले मन्त्री डा राणालाई स्वागत गर्नुभएको छ ।
सो अवसरमा महावाणिज्यदूत राउतले महावाणिज्य दूतावासका कामकारबाहीका बारेमा परराष्ट्रमन्त्री राणालाइ जानकारी गराउनु भएको उहाँको सचिवालयले जनाएको छ ।
मन्त्री डा राणाले आगामी वर्ष नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर नेपाल र चीन सरकारद्वारा संयुक्त रूपमा घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२५ को स्मरण गराउँदै यस पृष्ठभूमिमा महावाणिज्यदूतावासलाई नेपालको पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो ।
दुवै देशको पर्यटन प्रवर्दधनका साथै चिनियाँ बजारमा नेपाली चिया, कफी, औषधिजन्य तथा सुगन्धित जडीबुटीजस्ता नेपालका विशिष्ट उत्पादनहरूलाई प्रवर्दधन गर्ने कार्यमा लाग्न मन्त्री डा राणाले निर्देशन दिनुभयो । साथै उहाँले नेपाल चीन सम्बन्धलाई आर्थिक, सांस्कृतिक तथा जनस्तरमा थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
महावाणिज्य दूतावासमा आयोजित अन्तरक्रिया कार्यक्रममा चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीलगायतका अधिकारीको सहभागिता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया