

काठमाडौँ। ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान कार्यक्रम’ बुधवार सम्पन्न भएको छ ।
चलचित्र विकास बोर्डद्वारा शीतलनिवासमा आयोजित कार्यक्रममा चलचित्रका विभिन्न विधामा उत्कृष्ट चलचित्र तथा कलाकारहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रविधिमार्फत नेपालको प्रकृति र संस्कृति समेटेर अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने चलचित्र निर्माण गर्न आग्रह गर्नुभएको छ । उहाँले चलचित्रलाई नेपालको पर्यटन उद्योगसंग जोड्नसमेत आग्रह गर्नुभयो ।
राष्ट्रपति पौडेलले पछिल्लो समय व्यावसायिक सफलता र कथा प्रस्तुतिमा आएको शैलीगत विशेषताले नायकत्वभन्दा कथाका विषयवस्तु र चरित्रलाई प्रधानता दिँदा दर्शकले औधी रुचाउन थालेको पनि उल्लेख गर्नुभयो । उहाँले मौलिक कथा, प्रस्तुतिमा नविनता र अधिक सृजनशीलताले नेपाली चलचित्र क्षेत्रलाई नयाँ उचाईमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध नेपालको महत्वपूर्ण एक अङ्ग चलचित्र रहेको बताउनुभयो । उहाँले चलचित्रक्षेत्रलाई सम्मानित बनाउन प्रविधिगत विकाससँगै समयानुकूल बनाउने सरकारको लक्ष्य रहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डले बनाएको योजना र गरिरहेको कामको नतिजा केही समयमा देखिने बताउनुभयो ।
सो क्रममा राष्ट्रपति पौडेलले ‘दीर्घ साधना सम्मान’ बाट अभिनेत्री चैत्यदेवी सिंहलाई नगद तीन लाख ७५ हजार र प्रमाणपत्रसहित सम्मान गर्नुभएको थियो ।
नेपालको पहिलो चलचित्र ‘आमा’ मा अभिनय गर्नुभएकी अभिनेत्री सिंहले आफूले पाएको सम्मानले नयाँ उत्साह थपेको बताउनुभयो ।
सो कार्यक्रममा ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ तर्फ उकृष्ट चलचित्र ‘बुलाकी’ घोषित भयो । रासस
प्रतिक्रिया