

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालबाट बङ्गलादेश विद्युत् निर्यात हुनु नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ ।
नेपालमा उत्पादित विद्युत् शुक्रवारदेखि बङ्गलादेश निर्यात शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “दक्षिण एसियामा दिगो ऊर्जा भविष्यका लागि आजको दिन ऐतिहासिक हो ।”
उर्जामन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपीसी विद्युत् व्यापार निगम लिमिटेडबीच गत असोज १७ गते त्रिपक्षीय विद्युत् बिक्री सम्झौतामा भएको हस्ताक्षरले यस उपलब्धिको लागि मार्ग प्रशस्त गरेको उल्लेख गर्नुभयो ।
बङ्गलादेशमा विद्युत् निर्यातमा सहजीकरण गर्ने भारत सरकार र विद्युत् आयत गर्ने बङ्गलादेश सरकारलाई उहाँले धन्यवाद दिनुभयो । उक्त निर्यातले ऊर्जा सुरक्षा, आर्थिक वृद्धि र वातावरणीय दिगोपनलाई सहयोग पुगको उहाँको भनाइ थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्का, भारतका विद्युत्मन्त्री मनोहरलाल खट्टर र बङ्गलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिर खानले भर्चुअल माध्यमबाट बङ्गलादेश विद्युत् निर्यातको स्वीच अन गरेर औपचारिक शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रममा भारतका विद्युतमन्त्री खट्टरले भारतको प्रसारण लाईन प्रयोग गरेर दक्षिण एशियाली मुलुकमा विद्युत् विस्तार गर्ने काम सराहनीय भएको बताउनुभयो ।
बङ्गलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार खानले क्षेत्रीय ऊर्जा समन्वयका लागि यस्ता सम्झौताले ठूलो सहयोग पुगेको बताउनुभयो । यस्ता सहकार्यले एकीकृत ऊर्जा विकासमा दक्षिण एशियाली देशलाई समृद्ध बनाउँदै दीगो विकासलाई सहयोग पुग्ने उहाँको भनाइ थियो ।
ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले त्रिदेशीय ऊर्जा सम्झौता र निर्यात दक्षिण एशियाको इतिहासमा लामो समयसम्म स्मरणीय हुने बताउनुभयो ।
सम्झौता अनुसार नेपालले जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट विद्युत बङ्गलादेश निर्यात गर्नेछ ।
आज कार्तिक ३० गते शुक्रवार देखि ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात सुरु गरिएको हो । यो यामका लागि एक दिन मात्र बिजुली निर्यात गरिने छ । रासस
प्रतिक्रिया