

काठमाडौँ । तिहार बिदाको समयलाई सदुपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली केबुलकार चढेर शुक्रबार मध्यान्ह परिवारसहित चन्द्रागिरि डाँडोमा पुग्दा वातावरण थोरै घमाइलो थियो ।
वरिपरीका जङ्गललाई हुस्सुले नछोपे पनि मौसम छ्याङ्ग खुलेको भने थिएन । स्वदेशी र विदेशी यात्रीहरु आफ्नै लयमा चन्द्रागिरि पहाड, चन्द्रागिरि रिसोर्ट र भालेश्वर महादेवको परिसरमा घुमिरहेका थिए ।
यही बीचमा त्यहाँ पुग्नुभएका प्रधानमन्त्री ओलीले भालेश्वर महादेवको दर्शन र केही यात्रुको आग्रहमा तस्बिर खिचाएपछि काठमाडौँ उपत्यका देखिने छेउतिर राखिएको कुर्सी र टेबलमा बसेर डायरी र कलम समाउनुभयो ।
नजिकै रहेका सुरक्षाकर्मी र सहभागीले आगन्तुक पुस्तिकमा हस्ताक्षर गर्न लाग्नुभएको भन्ने ठाने पनि प्रधानमन्त्री ओलीले सतीदेवीको भाल पतनको पौराणिक प्रेमकथालाई चित्रण गर्दै त्यसलाई काव्यिक भावमा पस्कनुभयो –
“चन्द्रागिरि प्रेमको प्रतीक, सतीदेवी भाल पतन, सर्वोत्तम प्रेमकथा!’’
साथमै रहनुभएका प्रथम महिला राधिका शाक्य र सचिवालयको टोलीलाई प्रधानमन्त्री ओलीले यही रचनालाई वाचन गरेर सुनाउनुभयो ।
चन्द्रागिरि हिल्स प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले तत्कालै प्रतिक्रिया दिनुभयो, “सम्माननीयज्यू प्रायः चन्द्रागिरि आउँदा केही न केही लेख्नुहुन्छ । हामी धन्य छौँ ।”
राजनीतिका साथै कला, साहित्य र सङ्गीतलाई सक्दो समय दिने र अध्ययनमा त्यत्तिकै रुचि राख्ने नेताका रुपमा परिचित प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले धेरै पटक सार्वजनिकरुपमा भन्ने गर्नुभएको छ– “म कवि-साहित्यकार होइन ।”
तर उहाँलाई गहिराइका साथ बुझ्नेहरु भन्छन्– “उहाँमा सृजनात्मक चेत उच्च छ । समय मिल्ने हो भने उहाँको लेखनी जम्न सक्छ । उहाँका अभिव्यक्तिमा दार्शनिकता, साहित्यिक भाव र असिमित हास्यरस पाइन्छ ।” रासस
प्रतिक्रिया