logo
बिहीबार, २६ असार २०८२

कर्मचारीतन्त्रले नागरिकको मन जित्नसकेमा लोकतन्त्र दरिलो हुन्छ: राष्ट्रपति

कर्मचारीतन्त्रले नागरिकको मन जित्नसकेमा लोकतन्त्र दरिलो हुन्छ: राष्ट्रपति

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्नसकेमा लोकतन्त्र दरिलो हुने वास्तविकतालाई मनन गरेर राष्ट्रसेवकहरूले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयाे ।
लोक सेवा आयोगको आइतबार आयोजित हीरक जयन्ती समारोहमा उहाँले स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्रले आधुनिक विधि, प्रविधि र दक्ष जनशक्तिको प्रयोग गरी सुशासनको मर्मअनुरुप काम गरेमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमा जनताका चाहनालाई सम्बोधन गर्न सकिने बताउनुभएकाे हाे ।
राष्ट्रपति पौडेलले मुलुक सञ्चालन गर्ने सरकारी निकायमा स्थायी सरकारका रूपमा रहने योग्य कर्मचारी छनोट गर्ने संवैधानिक जिम्मेवारी पाएको लोकसेवा आयोगले ७५ वर्षमा आफ्नो मूल सिद्धान्त ‘योग्यता, निष्पक्षता र स्वच्छता’लाई प्रमुख आधार मान्दै निरन्तर क्रियाशील रहनु प्रशंसनीय कार्य भएको बताउनुभयो ।
राष्ट्रपति पौडेलले भन्नुभयो, “आयोग सरकारी सेवामा कर्मचारी छनोट र भर्नाको जग हो । यसले सदैव असल र उम्दा कर्मचारी छनोट गर्न सक्नेगरी सकेसम्म योग्यताका सबै पक्षहरु पूर्वानुमान गर्न सकिने खालका परीक्षण विधिहरु अवलम्बन गर्नुपर्छ ।”
राष्ट्रपति पौडेलले नेपालमा निजामती सेवामा समावेशी पदपूर्तिको व्यवस्था भएयता विभिन्न समावेशी समूहको विज्ञापनबाट महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता भएका र पिछडिएको क्षेत्रबाट उम्मेदवार सिफारिस गर्न सफल हुनु आयोगको सकारात्मक पक्ष भएको बताउनुभयो ।

TOP