

बेनी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक स्रोतको उचित व्यवस्थापन र परिचालन गरेर मुलुकमा आर्थिक परिर्वतन ल्याउन सकिने धारणा राख्नुभएको छ ।
म्याग्दी हुँदै मुस्ताङ जाने क्रममा बुधवार बिहान म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयसँग अन्तरक्रिया गर्दै उहाँले प्राकृतिक स्रोतलाई उचित व्यवस्थापन गरी पर्यटन प्रवर्द्धनको आधार बनाउन सकिने सम्भावना रहेको बताउनुभयो ।
कालीगण्डकी र आसपासका नदीहरूमा निर्माण भइरहेका जलविद्युत् आयोजनामा रोजगारीका अवसर सृजना हुनुका साथै हिमाल, झरना र रमणीय दृष्यावलोकनमा पर्यटकको आकर्षण बढाउन प्राकृतिक सम्पदाको पहिचान, प्रवर्द्धन र विकास गर्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिनुभयो ।
अन्तरक्रियाका क्रममा स्थानीयवासीले बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरो नियन्त्रण तथा कटान रोकथाम गरेर सुरक्षित रूपमा नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउन माग गरेका छन् ।
अध्यक्ष दाहालले रणनीतिक महत्त्वको बेनी-जोमसोम-कोरला सडक स्तरोन्नतिलाई पूर्णता दिन, पहिरो तथा नदी कटान रोकथाम गर्न र कोरला नाका व्यापारिक रूपमा सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनुभयो ।
देशका विभिन्न ठाउँमा पुग्दा जनताले सुशासन, समृद्धि र राजनीतिक स्थायित्व चाहेको बताउँदै उहाँले सबैको सहकार्य र समन्वयमा अहिलेको व्यवस्थालाई सुधार गरेर लैजानुपर्ने धारणा राख्नुभयो । रासस
प्रतिक्रिया