logo
बुधबार, २५ असार २०८२

डिजिटल कुलतवारे बालबालिकालाई देखाउँन पर्ने चलचित्र ‘झिल्को’

डिजिटल कुलतवारे बालबालिकालाई देखाउँन पर्ने चलचित्र ‘झिल्को’

काठमाडाैँ ।  जसरी सानो ‘झिल्को’ ले ठूलो आगलागी निम्त्याउन सक्छ, त्यसरी नै डिजिटल कुलतको सानो लतले व्यक्ति, समाज र परिवारमा गम्भीर असर पार्न सक्छ ।

‘झिल्को’ चलचित्र यही यथार्थमा आधारित छ । यसले डिजिटल कुलतको सुक्ष्म रूप र त्यसले पार्ने प्रभावलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ । आज मोबाइल हाम्रो जीवनको अभिन्न अङ्ग बनिसकेको छ ।

एक समय सम्पर्कको माध्यममात्र रहेको मोबाइल अहिले हाम्रो जीवनशैलीलाई नै निर्देशित गर्ने शक्तिशाली औजार बनेको छ । दुःखको कुरा, यसको कुलतमा बालबालिका पनि फस्दै गइरहेका छन् । ‘झिल्को’ले यही ज्वलन्त समस्यालाई उजागर गरेको छ ।

निर्देशक यादव भट्टराईले बालबालिकामा बढ्दो डिजिटल कुलतको गम्भीर समस्यालाई चलचित्र ‘झिल्को’मार्फत उजागर गर्नुभएको छ । आजभोलि खाना खानुभन्दा अगाडि मोबाइल चलाउने, अनलाइन गेम खेल्ने र युट्युबमा ‘भिडियो’हरू हेर्ने बानी बालबालिकाका लागि सामान्यजस्तै भइसकेको छ ।चलचित्रमा यिनै विषयवस्तु र त्यसले पार्ने नकारात्मक असरलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।

यस चलचित्रमा आयुषी ढकाल, विशाल पोखरेल, वर्षा सिवाकोटी र सुनिल पोखरेलजस्ता कलाकारले सशक्त अभिनय गर्नुभएको छ, जसले कथालाई जीवन्त बनाएको छ ।

अभिभावकहरूले पनि बालबालिकाको मोबाइल प्रयोगलाई सामान्य ठानेर बेवास्ता गर्दा भविष्यमा यसले कस्तो गम्भीर रूप लिन सक्छ भन्ने कुरा ‘झिल्को’ चलचित्रले चित्रण गरेको छ । चलचित्रमा एक पत्रकारको सुखी र खुसी परिवारको कथा छ, जहाँ उहाँको श्रीमती र छोरी छिन् ।

तर, यही सुखी परिवारमा डिजिटल कुलतको सानो ‘झिल्को’ कसरी सल्किन्छ र त्यसले कस्तो असर पुर्याउँछ भन्ने कुरालाई चलचित्रमा मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । यसले समयमै सचेत नभए परिवारमा आउन सक्ने सम्भावित खतरालाई उजागर गर्छ ।

प्रविधिमैत्री यो समयमा डिजिटल कुलतबाट आफू जोगिनु र आफ्ना बालबालिकालाई जोगाउनु एउटा ठूलो चुनौती बनेको छ । सुरूमा सामान्य लाग्ने यो लतले भविष्यमा परिवारमात्र नभई सामाजिक सम्बन्धमा समेत नकारात्मक असर पार्न सक्छ भन्ने कुरा ‘झिल्को’ चलचित्रले स्पष्ट रूपमा देखाएको छ ।

टेलिशृङ्खलाबाट चलचित्रमा प्रवेश गर्नुभएका अभिनेता पोखरेलले यस चलचित्रमा काम गर्दा आफूले डिजिटल कुलतजस्तो महत्त्वपूर्ण विषयमा नयाँ ज्ञान प्राप्त गरेको बताउनुभयो ।

नेपालमा पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ता बढेका छन् । मोबाइल चलाउनु दैनिकीको हिस्सा बनिसकेको छ । अहिले सामाजिक सञ्जालमा ‘झिल्को’ बनेर फैलिने खबरले न्यायालयभन्दा अगाडि फैसला सुनाइसक्छ । एउटा सानो श्रव्यदृश्य वा कसैले केही लेखेकै भरमा डिजिटल माध्यमले मानिसलाई गर्ने असरलाई पनि चलचित्रले समेटेको छ ।

मिडिया फर कल्चर प्रालिको निर्माणमा तयार भएको चलचित्र ‘झिल्को’ वैशाख १९ गतेबाट देशभर प्रदर्शन भइरहेको छ । उक्त चलचित्रमा निर्देशक भट्टराईसँगै अरूणदेव जोशी र देव व्रतले कथा लेखनको काम गर्नुभएको छ ।

डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिकसम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असरमाथि केन्द्रित चलचित्रले आजको समयका यथार्थ र संवेदनशील विषयवस्तु उजागर गरेको दर्शकको भनाइ छ । चलचित्र हेराउन केही अभिभावक बालबालिका लिएर चलचित्र भवन पुगिरहेका छन् । अर्थात् चलचित्र निर्माणको उद्देश्य केही हदसम्म पूरा हुँदैछ ।

‘झिल्को’ चलचित्रले विशेषगरी डिजिटल कुलतका कारण र त्यसले निम्त्याउने नकारात्मक असरलाई उजागर गरेको छ । यही कारणले पनि अभिभावकले आफ्ना बालबालिकालाई यो चलचित्र देखाउन चलचित्र भवनसम्म पुग्नु आवश्यक छ ।

के थाहा, चलचित्रमा देखाइएजस्तै डिजिटल कुलतको सानो ‘झिल्को’ कतै तपाईँको परिवारमा त पनि सल्किरहेको छैन ? यो चलचित्रले समयमै सचेत हुन र आवश्यक कदम चाल्न प्रेरित गर्न सक्छ । रासस

TOP