

काठमाडाैँ । दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी बृहत् कला प्रदर्शनी आयोजना हुने भएको छ ।
यसैगरि माघ १२ गतेदेखि काठमाडौँमा सुरु हुने प्रदर्शनीमा दक्षिण एसियाका दश जना महिला कलाकारले आफ्ना सृजना प्रदर्शन गर्नेछन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा ‘फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम एण्ड साउथ एशियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एशियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने जानकारी दिइयो ।
डा. अर्शिया लोखन्डवालाको परिकल्पनामा आयोजना हुन लागेको प्रदर्शनीले पितृसत्तात्मक संरचना, परम्परागत सोच र लैङ्गिक राजनीतिजस्ता विषय सम्बोधन गर्ने जनाइएको छ ।
तारागाउँ नेक्स्टको आयोजना र सराफ फाउन्डेसनको सहकार्यमा काठमाडौँको बौद्धस्थित तारागाउँ सांस्कृतिक केन्द्रमा हुने प्रदर्शनी सर्वसाधारणले तीन महिनासम्म अवलोकन गर्न सक्नेछन् ।
प्रदर्शनीमा भारतका चार, नेपालका तीन र श्रीलङ्का, पाकिस्तान र बङ्गलादेशका एक-एक महिला कलाकारका सृजना रहनेछन् ।
आयोजकका अनुसार भारतीय कलाकारहरु अनिता दुबे, मिथु सेन, शेबा छाच्छी र पुष्पमाला, नेपाली कलाकार अश्मिना रञ्जित, विधाता केसी र उमा विष्टसँगै श्रीलङ्काकी अनोली पेरेरा, पाकिस्तानकी नाइजा खान र बङ्गलादेशकी तायबा बेगम लिपिका सृजना प्रदर्शनीमा रहनेछन् ।
नेपालको महिला अधिकारसँग सम्बन्धित मुद्दालाई दक्षिण एशियाली देशका महिला अधिकारका विषयसँग सम्बन्धित सङ्घर्षसँग जोड्ने प्रयासस्वरूप प्रदर्शनी आयोजना गरिएको सराफ फाउन्डेशन तथा तारागाउँ नेक्स्टकी संस्थापक निर्देशक नमिता साराफको भनाइ छ ।
प्रदर्शनीमा विभिन्न समकालीन मुद्दाहरूलाई अन्वेषण गर्ने सृजनासमेत समावेश छन् । पुष्पमाला एनको ‘अभेगा– द प्यासन (२०१२)’ ले रामायणका महिलाका पात्रहरूको पारम्परिक चित्रणलाई चुनौती दिँदै उनीहरूको सशक्त पक्षबारे उजागर गर्नेछ ।
अश्मिना रञ्जितको ‘सीता ! द आइडियल वाइफ (२०२५)’ ले महिलाको अधिकार र स्वतन्त्रता खोस्ने हिन्दू परम्पराअनुसारको विवाहमा गरिने ‘कन्यादान’ प्रथाको आलोचना गर्नेछ । रासस
प्रतिक्रिया