logo
२ चैत्र २०८१, शनिबार

अनलाइनबाट हुने दुर्व्यवहारका घटना रोक्नु पर्नेमा जोड

अनलाइनबाट हुने दुर्व्यवहारका घटना रोक्नु पर्नेमा जोड

काठमाडाैँ । इन्टरनेटको विकाससँगै अनलाइनबाट हुने दुर्व्यवहारका घटना वृद्धि भएका छन् । सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममार्फत हुने यस्ता घटना न्यूनीकरणका लागि डिजिटल शिक्षा आवश्यक रहेको सरोकारवाला तथा सञ्चारकर्मीहरुले बताएका छन् ।

सुरक्षित इन्टरनेट दिवस २०२५ का सन्दर्भमा विहिवार ‘अनलाइन दुव्र्यवहारबाट प्रभावित बालबालिका र महिलाको अवस्था तथा सुरक्षित इन्टरनेटका लागि सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम गरियो ।

भ्वाइस अफ चिल्ड्रेन र आइवर्ट नेपालको संयुक्त आयोजना भएको अन्तरक्रियामा अनलाइनबाट हुने दुर्व्यवहारका घटनाको तथ्याङ्क अध्ययन, रोकथाम तथा न्यूनीकरणका उपायबारे छलफल भएको थियो ।

कार्यक्रममा महिला आयोगका अध्यक्ष कमला पराजुलीले महिला सँगसँगै बालबालिका पनि अनलाइन दुर्व्यवहारबाट प्रभावित भइरहेकाले त्यसलाई न्यूनीकरण गर्न एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले अनलाइनमार्फत हुने दुर्व्यवहारजन्य घटनाको न्यूनीकरणका लागि सरकारी क्षेत्र सँगसँगै प्रत्येक व्यक्ति, अभिभावक सचेत हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय बालअधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले साइबर हिंसाको सिकारमा धेरै बालबालिका परिरहेको उल्लेख गर्नुभयो । उहाँले इन्टरनेटको सुरक्षित प्रयोगबारे बालबालिकालगायत सबैलाई सिक्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

भ्वाइस अफ चिल्ड्रेनका कार्यकारी निर्देशक कृष्णकुमार थापाले इन्टरनेटको सुरक्षित प्रयोगका लागि राज्यको नीति निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।

TOP