logo
२ चैत्र २०८१, शनिबार

प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको बैठकलाई विधि र प्रक्रियाअनुसार चलाउनुपर्ने माग राख्दै प्रतिपक्षी दलका सांसदहरुले विरोध जनाउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलवारको बैठकमा आकस्मिक समय र शून्य समयको प्रक्रिया पूरा भइसकेपछि सभामुखको आसनमा रहनुभएका उपसभामुख इन्दिरा राना मगरले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न समय दिनुभयो ।

सांसद खतिवडाले आफ्नो मन्तव्य राखेलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नियमापत्ती जनाउनुभयो । उहाँले सत्तापक्षीय सांसदलाई कुन नियममा रहेर आकस्मिक र शून्य समय सकिएपछि बोल्न दिइयो भन्दै प्रश्न गर्नुभयो ।

सभामुखको आसनमा रहनुभएका उपसभामुखले सांसद खतिवडाले आकस्मिक समयमा नै नाम टिपाउनु भएको भए पनि छुटेका कारणले बोल्न दिइएको बताउनुभयो ।

नेकपा माओवादी केन्द्र लगायतका विपक्षी दलका सांसदले कुन विधि र प्रक्रियाका आधारमा सत्तापक्षीय सांसदलाई पटक पटक बोल्न दिइएको हो भन्दै प्रश्न उठाएपछि उपसभामुख रानाले यसमा के भएको हो अध्ययन गर्न सचिवालयलाई निर्देशन दिइसकिएको बताउनुभयो ।

तर, विपक्षी दलका सांसदहरुले चित्त बुझाउनु भएन । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकलाई विधि र प्रक्रियाअनुसार चलाउनुपर्ने बताउनुभयो ।

विपक्षी दलको लगातारको विरोधपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी गराउनुभयो ।

TOP