

नुवाकोट । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकलाई देशभर खटाउन सकिने व्यवस्थासहितको विद्यालय शिक्षा विधेयक आवश्यक रहेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल, नुवाकोटले सोमवार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री भट्टराईले प्रक्रियामा अघि बढेर लामो समयदेखि छलफलमा रहेको विधेयकमा देखिएका समस्या अन्तर्गत शिक्षक परिचालन र व्यवस्थापन तीन तहकै सरकारको जिम्मेवारीमा पर्ने भएकाले देशभर खटाउन सकिने उल्लेख गर्नुभयो ।
विधेयकका दफाबारे छलफल भइ संगठन र राजनीतिक दलहरुबाट समान धारणा आएमा उत्पन्न समस्या समाधान गर्न सकिने मन्त्री भट्टराईले बताउनुभयो । विधेयकमा देखिएका समस्यामध्ये संस्थागत विद्यालयको व्यवस्थापन पक्ष अझै थप पेचिलो बन्दै गइरहेको उहाँको भनाइ छ ।
सरकारले अनिवार्यसहित निःशुल्क शिक्षा कार्यान्वयन गर्न आवश्यक कोष निर्माण गर्नेसहितका नवीनतम विषय अब आउने विधेयक र ऐनमा समावेश गर्ने उहाँले जानकारी दिनुभयो ।
मन्त्री भट्टराइले त्यसलाई शिक्षा कोषको रुपमा विकास गर्ने, स्थानीय तहले सञ्चालन गर्ने, सङ्घ र प्रदेशले लगानी गरेर जाने अवस्था बनाउन सक्यो भने शिक्षामा तीन तहले साझा दायित्व र जिम्मेवारी बोध गर्ने बताउनुभयो ।
विद्यालय शिक्षा विधेयक संसदमा पेस भएर त्यसमाथि दफाबार छलफल जारी छ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विधेयकमाथि सरोकारवाला सँगको राय पश्चात उपसमिति बनाएर थप प्रक्रिया अघि बढाउन लागेको जनाइएको छ । रासस
प्रतिक्रिया