logo
३० माघ २०८१, बुधबार

‘समृद्धिको यात्रामा वर्तमान सरकार निरन्तर लागिरहेको छ’

‘समृद्धिको यात्रामा वर्तमान सरकार निरन्तर लागिरहेको छ’

काठमाडाैँ ।  गृहमन्त्री रमेश लेखकले मुलुकमा सुशासनसहितको विकास र आर्थिक समृद्धिको यात्रामा वर्तमान सरकार निरन्तर लागिरहेको बताउनुभएको छ ।

राष्ट्रिय सहिद दिवसका अवसरमा सङ्घीय सरकारद्वारा बुधबार सिंहदरबार परिसरमा आयोजित मूल समारोहमा उहाँले सहिदहरूले देखाएको बाटोमा अघि बढ्दै देशमा दिगो शान्ति, सुशासन, समृद्धि, स्थायित्व र विकासको मार्गलाई सुदृढ गर्दै जानु राष्ट्रिय दायित्व भएको उल्लेख गर्नुभयो ।

संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण आजको राष्ट्रिय आवश्यकता हो भन्दै गृहमन्त्रीले सबैले सहमति, समन्वय र सहकार्यका माध्यमबाट संविधानको रक्षा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्दै जानुपर्ने बताउनुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको माध्यमबाट संविधानले परिकल्पना गरेअनुसार मुलुकमा दिगो शान्ति स्थापना, सुशासनसहितको विकास र समृद्धिको यात्रालाई पूर्णता दिन सकिने धारणा राख्दै सरकार सोही बाटोमा दृढतापूर्वक लागेको बताउनुभयो ।

गृहमन्त्रालय नागरिकको सुरक्षाको प्रत्याभूति गर्न, शान्ति, स्थिरता र विधिको शासन कायम गर्न निरन्तर क्रियाशील रहेको बताउँदै मन्त्री लेखकले मुलुकमा शान्ति सुरक्षाको प्रत्याभूति, अपराध नियन्त्रण तथा सामाजिक न्यायको प्रवर्द्धनमा सरकार निरन्तर लागिरहेने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

TOP