काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगो बाल्दा वा हिटर तथा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयले शुकबार एक विज्ञप्ति जारी गरी जाडोयाममा शरीर र कोठालाई न्यानो राख्न आगो ताप्ने, हिटर बाल्ने र गिजरको प्रयोग गरिने हुँदा यस्ता उपकरणहरूको प्रयोगमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो ।
यी उपकरणहरुको प्रयोगमा सावधानी नअपनाउँदा बर्सेनि मृत्यु र अस्पतालमा भर्ना हुने घटनाहरू घटिरहेका छन् ।
मन्त्रालयले हावा ओहोरदोहोर हुने स्थान वा कोठामा मात्र त्यस्ता उपकरण प्रयोग गर्न, सकेसम्म कोइला आधारित स्रोतबाट आगो नताप्न, आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने सामग्री नजिक नराख्नु र आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउनसमेत अनुरोध गरेको छ ।
यी उपकरणको प्रयोग गर्दा टाउको दुख्ने, रिङ्गटा चल्ने आदि जस्ता लक्षण देखिएमा तुरुन्त झ्याल ढोका खुला गरी हावा ओहोरदोहोर गराउन वा खुला ठाउँमा जान पनि अनुरोध गरिएको छ ।
लक्षणहरू कम नभएमा वा अझै खराब भएमा अस्पताल गई चिकित्सकको उचित सल्लाह लिन वा मन्त्रालयको ‘हेल्लो स्वास्थ्य कल सेन्टर १११५’ मा सम्पर्क गरी परामर्श लिन पनि मन्त्रालयले आग्रह गरेको छ ।
प्रतिक्रिया