पोखरा । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित ६ जनाले धरौटी रकम बुझाएका छन् ।
लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरुङ र आरती गुरूङले धरौटी रकम बुझाएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो । स्रेस्तेदार खनालका अनुसार धरौटी रकम बुझाएसँगै उनीहरु रिहा भएका छन् ।
न्यायाधीश नितिज राईको इजलासले आज विहिवार सभापति लामिछानेलाई ६५ लाख रूपैयाँ, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईंलाई ३७ लाख, मीना गुरुङलाई लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरुङलाई ५ लाख र कृष्णबहादुर गुरुङलाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । प्रतिवादी लीला पछाईंले भने आज धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै रहने अदालतले जनाएको छ ।
लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले पार्टी र परिवारको जिम्मा लगाइने, शुक्रबार उहाँ आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने जनाइएको छ ।
अदालतमा १० दिनसम्म भएको थुनछेक बहसपछि प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न आदेश आएको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
सरकारी वकिल कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध मुद्दा चलाएको छ । धरौटीमा रिहा भएका प्रतिवादीहरूको मुद्दामा थप अनुसन्धान हुने स्रेस्तेदार खनालले बताउनुभयो । रासस
प्रतिक्रिया