logo
१० माघ २०८१, बिहीबार

तिब्बत भूकम्पको धक्काबाट नेपालमा २ घाइते  ११ जना बेहोस

काठमाडौँ । चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्गयीमा केन्द्रविन्दु भएर मंगलवार बिहान गएको ७ रिक्टरस्केलको भूकम्पका कारण नेपालमा अहिलेसम्म १३ जना घाइते (११ जना बेहोस) भएका प्रहरीले जानकारी दिएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले विभिन्न जिल्लामा १३ जना घाइते भएका र दुई घर पूर्ण, एक आंशिक र ११ घरमा सामान्य क्षति भएको विवरण प्राप्त भएको जानकारी दिनुभयो ।

यद्यपि विवरण सङ्कलनका लागि प्रहरीहरू खटाइएकाले थप खुल्न बाँकी रहेको पनि उहाँले  बताउनुभयो । उहाँले भूकम्पका कारण काठमाडौँमा एक, बारामा ११ र काभ्रेमा एक जना घाइते भएको पनि जानकारी दिनुभयो ।

काठमाडौँमा भाग्दा घाइते भएका, बारामा ११ जना भूकम्प आएपछि बेहोस भएका र काभ्रेका एक जना माथिबाट ढुङ्गा खसेर घाइते भएका अधिकारीले जानकारी दिनुभयो ।

ओखलढुङ्गामा एक घर पूर्ण र दुई घरमा सामान्य तथा सङ्खुवासभामा एक घरमा सामान्य क्षति भएको पनि उहाँले बताउनुभयो ।

त्यस्तै, सोलुखुम्बुमा एक पूर्ण र एक आंशिक तथा तीन घरमा सामान्य क्षति भएका तथा ताप्लेजुङमा तीन, सिन्धुपाल्चोकमा एक र रामेछापमा एक घरमा सामान्य क्षति भएको उहाँले जानकारी दिनुभयो ।

TOP