logo
१० माघ २०८१, बिहीबार

चितवन-२ का सांसद रवि लामिछाने स्वतः निलम्बनमा

काठमाडौँ । चितवन-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने स्वतः निलम्बनमा पर्नुभएको सङ्घीय संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले सोमवार जारी गर्नुभएको सूचनामा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ अनुसार उहाँ स्वतः निलम्बनमा परेको उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार सभामुखलाई पत्र लेखी चितवन-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको जानकारी दिएको थियो ।

सो पत्रमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको पूरक अभियोगपत्र दर्ता भएको जनाइएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ को प्रयोजनार्थ जानकारीका लागि अनुरोध गरिएको प्रहरीले सभामुखलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।

प्रतिनिधिसभा, नेपाल प्रहरी प्रधान कार्यालय, गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, अवरोध जाहेरी शाखा गण्डकीलाई पनि बोधार्थ दिई कास्की प्रहरीले सभामुखलाई पत्र लेखको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहनुभएका लामिछानेविरुद्ध आइतबार जिल्ला अदालत कास्कीमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको पूरक अभियोगपत्र दर्ता भएको थियो ।

यससम्बन्धी विवरणसहितको पत्र जिल्ला सरकारी वकिलको कार्यालय कास्कीबाट संसद् सचिवालयलाई प्राप्त भएको पनि सूचनामा गराइएको छ ।

TOP