काठमाडौँ । मुलुकका विभिन्न ४ स्थानको तापक्रम आज माइनसमा झरेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले केही दिन अघिको तुलनामा आज बिहिवार न्यूनतम तापक्रम केही बढी भए पनि चार ठाउँको न्यूनतम तापक्रम भने माइनसमा रहेको जानकारी दिनुभयो ।
महाशाखाका अनुसार जुम्ला, जोमसोम, जिरी र लुक्लाको न्यूनतम तापक्रम माइनसमा छ । बिहिवार साँझ पौने ६ बजे अध्यावधिक गरिएको तापक्रम विवरणमा जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ५ डिग्री रहेको छ । यस्तै जोमसोमको माइनस २ दशमलव ५, जिरीको माइनस शून्य दशमलव ७ र लुक्लाको माइनस १ डिग्री रहेको छ ।
यसअघि मङ्सिर २९ गते जुम्लाको तापक्रम माइनस ७ दशमलव २ डिग्रीसम्म झरेको थियो । सोही दिन काठमाडौँमा न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम २ डिग्रीमा झरेको थियो ।
आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री रहेको महाशाखाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । साथै मङ्सिर अन्तिम साताभन्दा आज न्यूनतम तापक्रम केही माथि रहेकाले थोरै कम चिसो महसुस गरिएको छ ।
आज वीरेन्द्रनगरको पाँच दशमलव छ, नेपालगञ्जको १० दशमलव २, भैरहवाको १०, पोखराको ८, विराटनगरको १० दशमलव ५ र ताप्लेजुङको न्यूनतम तापक्रम ६ दशमलव ५ रहेको छ ।
प्रतिक्रिया