मलेखु । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छीमा बस दुर्घटना हुँदा आठजना घाइते भएका छन् । बस आफैँ अनियन्त्रित भई सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएको हो ।
बुटवलबाट काठमाडौँ आउँदै गरेको लु२ख ६६७६ नंको बस धादिङको गल्छी गाउँपालिका-६ सुत्केरी ढुङ्गामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
प्रनाउ हमालका अनुसार दुर्घटनामा परी कपिलवस्तुको शिवराज नगरपालिका-३ का ४० वर्षीय गोपाल सुनार, ३९ वर्षीया अस्मिता आले, बारगङ्गा नगरपालिका-३ का ५४ वर्षीय जनक गौतम, सुर्खेतको गुर्भाकोट नगरपालिका-१ का ४२ वर्षीय चित्रबहादुर पाण्डे, काभ्रेको बनेपा नगरपालिका-७ का ३१ वर्षीय सुकराम कार्की, ५८ वर्षीय विजय कार्की, स्याङ्जाको आधिखोला गाउँपालिका-१ का ५६ वर्षीय नन्दलाल अधिकारी र रामेछापको सुनापति गाउँपालिका-१ का ४२ वर्षीय राजकुमार दास घाइते भएका छन् ।
दुर्घटनामा परी घाइते भएका आठैजनालाई बैरेनी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँको बिएन्डबी अस्पताल रेफर गरिएको छ ।
बस चालक रुपन्देहीको सैनामैना नगरपालिका-९ का ३० वर्षीय भूपेन्द्र चापागाइँलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक हमालले जानकारी दिनुभयो ।
प्रतिक्रिया