काठमाडौँ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहनुभएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेललाई बयानका लागि पर्सामा लगिएको छ ।
वीरगञ्जको सानो पाइला सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानका लागि सोमवार लामिछानेलाई पोखराबाट हवाई उडानमार्फत पर्सामा लगिएको हो । प्रहरीले सभापति लामिछानेलाई सोमवार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिमरा विमानस्थलसम्म हवाई उडानमार्फत लगिएको हो ।
यही मङ्सिर १९ गते पर्सा जिल्ला अदालतले सानो पाइला सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसहित १४ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । सो पक्राउ पुर्जीको आधारमा थप अनुसन्धानकालागि लामिछानेलाई पर्सा लगिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले सोमवार बेलुकीपख लामिछानेलाई थप अनुसन्धानको लागि पर्सा लगिएको जानकारी दिनुभयो ।
यसैबीच, रास्वपाका सभापति लामिछानेलाई बयानका लागि वीरगञ्ज लैजाने क्रममा रास्वपाका कार्यकर्ताले सिमरा र वीरगञ्जमा नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।
पर्सा प्रहरीले सानो पाइला सहकारी प्रकरणमा जोडिएका गोर्खा मिडिया तत्कालीन उपाध्यक्ष छविलाल जोशी बन्जाडे र रामबहादुर खनाललाई स्थलमार्गबाट आइतबार पर्सामा ल्याइएको जानकारी दिनुभयो । सरकारी वकिलको कार्यालयमा सोमवार जोशी र खनालको बयान कार्य भएको छ ।
पर्सा जिल्ला अदालतले गत मङ्सिर १९ गते रास्वपाका सभापति लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसहित १४ जनालाई पक्राउ गरेर अनुसन्धान गर्नका जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमति दिएको थियो ।
तत्कालीन समयमा लामिछाने प्रबन्ध निर्देशक रहेको समयमा सानो पाइला सहकारीबाट करिब आठ करोड रकम गोर्खा मिडिया नेटवर्कमा गएको बताइएको छ । कास्की, रूपन्देही, काठमाडौँ र चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेर जिल्ला-जिल्लामा बयान लिने क्रम जारी छ । रासस
प्रतिक्रिया