मार्तडी । बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा आइतवार दिउँसो स्कारपियो दुर्घटना हुँदा एक जनाको घटनास्थलमा र एक जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
बडीमालिका नगरपालिका-८ मा रहेको मालिका मन्दिरमा दर्शन गरेर फर्किने क्रममा मार्तडी कोल्टी सडक खण्डमा पर्ने अपी होटल नजिकै सुपप्र ०१ ००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घटनास्थलमा कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका-१७ की ३१ वर्षीया गायत्री पन्तको र उपचारका क्रममा सोही जिल्ला भीमदत्त-१८ की राधिका भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।
दुर्घटनामा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयका कार्यालय सहयोगी गौमुल गाउँपालिका-४ बस्ने २५ वर्षीय रमेश धामी, कञ्चनपुरको कृष्णपुर–५ गुलरियाका मोहनदेव भट्ट र भीमदत्त-१७ का ३९ वर्षीय लोकेन्द्र पन्त घाइते भएका उहाँले बताउनुभयो ।
प्रनाउ गिरीका अनुसार घटनामा परी घाइते भएका तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घटनामा परेर मृत्यु भएकाको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ । रासस
प्रतिक्रिया