काठमाडौँ । टिकटकले नेपालमा दुई महिनाभित्र कम्युनिटी ‘गाइडलाइन्स’ विपरीत पोष्ट गरेका छ हजार ७८ भिडियो हटाएको छ । अप्रिल र जुन महिनामा पोष्ट भएका उक्त भिडियोमध्ये ९९ दशमलव १ प्रतिशत तुरून्तै हटाएको र ९३ दशमलव २ प्रतिशत भिडियो २४ घन्टाभित्र हटाएको टिकटकका प्रतिनिधिले जनाएका छन् ।
काठमाडौँमा मंगलवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा टिकटकले आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट नेपाल’ कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा टिकटक प्रतिनिधि सिद्रा जलिलले टिकटकले नियमन गर्न बनाएको निर्देशिका (गाइडलाइन) बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । मर्यादित र व्यवस्थित टिकटक प्लेटफर्म बनाउन उमेर समूह समेत छुट्याइएको प्रस्तुतकर्ता जलिलले बताउनुभयो ।
टिकटकमा सीधै म्यासेज गर्न १६ वर्ष उमेर पुगेको हुनुपर्ने, लाइभमा बस्न १८ वर्ष उमेर पुगेको हुनुपर्नेलगायत निर्देशिका टिकटकले निर्धारण गरेको छ । यद्यपि प्रयोगकर्ताको सामाजिक सञ्जालको सही सदुपयोग गर्नेबारे चेतनाको अभावका कारण गाइडलाइनको सही पालना नभएको उहाँले सुनाउनुभयो ।
त्यस्तै, कार्यक्रममा दक्षिण एसियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फिरदौस मोक्ताकिनले डिजिटल साक्षरता र अनलाइन सुरक्षा प्रवर्द्धनमा नेपाल सरकारसँग निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
प्रतिक्रिया