काठमाडौँ । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनमा हालसम्म ३७ स्थानको नतिजा सार्वजनिक भएको छ । मतगणना जारी रहेका बाँकी चारै स्थानको नतिजा पनि आजै राति अबेरसम्म आइसक्ने अनुमान गरिएको छ ।
आयोगका प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका-९ को वडाध्यक्षको मतगणना जारी छ ।
कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डङ्गोल ३ हजार ८ सय ३४ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । उहाँका निकटम प्रतिस्पर्धी एमालेका सुरेन्द्र मानन्धरले २ हजार ९ सय १३ मत पाउनुभएको छ ।
दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्षका उम्मेदवार माओवादी केन्द्रकी निम लेकी शेर्पाले १ हजार ३ सय ८० मत प्राप्त गरी अग्रता कायम राख्नुभएको छ । उहाँको प्रतिस्पर्धी एमालेका उमा लुङ्गेली मगर शेर्पाले १ हजार १३ मत पाउनुभएको छ ।
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका देवकी तिमल्सिनाले ७ सय ६ मतसहित अग्रता कायम गरिरहनुभएको छ । उहाँको प्रतिस्पर्धी कांग्रेसका सविता बुढाले ४ सय ९३ मत पाउनुभएको छ ।
उदयपुरको बेलका नगरपालिका वडा नं ९ को मतगणना आज सोमवार साँझ ५ बजेदेखि मात्र सुरु भएको छ । सो वडामा नेकपा एमाले, नेपाली कांग्रेस लगाएत ७ दलका उम्मेदवार हुनुहुन्छ ।
प्रतिक्रिया