

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धानका गर्नका लागि कास्की जिल्ला अदालतले मंगलवार अनुमति दिएको छ ।
सहकारी ठगी अभियोगमा यही कात्तिक २ गते पक्राउ पर्नुभएका लामिछानेलाई कात्तिक १५ गतेदेखि लागू हुनेगरी तेस्रो पटक १० दिनको म्याद थप गरिएको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।
यसअघि गत कात्तिक १४ गतेसम्मको म्याद रहेकोमा तिहार विदाका कारण अदालत बन्द भएकाले तिहारको विदापछि लामिछानेलाई आज मंगलवार अदालतमा पेश गरिएको थियो ।
जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको सूचना अधिकारी अधिकारीले बताउनुभयो ।
पूर्व गृहमन्त्री समेत रहनुभएका रास्वपा सभापति लामिछानेमाथि सम्पति शुद्दिकरण समेतमा थप अनुसन्धान गर्न पर्ने देखिएको प्रहरीको भनाइ छ । कास्कीमा गर्न वाँकी अनुसन्धान पुरा गरेर सभापति लामिछानेलाइ रुपन्देही लैजाने तयारी गरिएको छ ।
प्रतिक्रिया