logo
४ माघ २०८१, शुक्रबार

‘सुक्खा हिउँद र सन्निकट सङ्कट’

‘सुक्खा हिउँद र सन्निकट सङ्कट’

काठमाडौँ । सामान्यतः हिउँदमा पानी पर्नु नियमित चक्र नै हो तर पछिल्ला केही वर्षयता त्यो चक्रमा खलबलिएको छ । खासगरी यसरी पर्ने आकाशेपानी तोरी, गहँ, मकै, तरकारी बालीका लागि लाभदायक मानिन्छ ।

जानकारहरू यस पटक पनि हिउँदमा लामो समयसम्म आकाशेपानी नपर्दा तराई तथा पहाडमा लगाइएका हिउँदे बालीका लागि प्रतिकूल अवस्था रहेको बताउँछन् । हिमाली क्षेत्रमा भने यस अवधिमा दुई पटकसम्म हिमपात हुँदा केही राहत भएको छ ।यसले हिमाली क्षेत्रमा उत्पादन हुने आलुखेतीका लागि फाइदा पुगेको बालीविद्ले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागले पनि यसपटक पनि औसतभन्दा कम पानी पर्ने आकलन गरेको छ । विभागका महानिर्देशक कमलराम जोशीले यस वर्षको हिउँदमा औसतभन्दा कम पानी पर्ने आकलन गरिएको बताउनभयो । “विभागले यही मङ्सिर १५ देखि आगामी १६ फागुनसम्मको हावापानी आकलन गर्दै देशभर औसतभन्दा कम पानी पर्ने प्रक्षेपण गरेका छ”, उहाँले भन्नुभयो, “अहिले नै हिउँदमा पानी परेन, हिउँदे खडेरी भयो भन्न चाहिँ मिल्दैन तर आजसम्मको अवस्था हेर्दा निकै कम पानी परेको छ ।”

प्रशान्त महासागरमा लानिना विकसित हुने क्रममा रहँदा र प्रिमनसुनको सुरुआती अवधिसम्म लानिना रहँदा यस वर्षको हिँदमा कम पानी पर्ने बताउनुहुन्छ, विभागकी प्रवक्ता विभूति पोखरेल । हिउँदको जनवरी–फेब्रुअरीमा अझ सुक्खा बढ्नसक्ने विभागले आकलन गरेको उहाँले बताउनुभयो ।विभागका अनुसार हिउँदयाममा कोशी प्रदेशको दक्षिणी भूभाग र मधेश प्रदेशको पूर्वी भूभागमा अझ बढी सुक्खाको सम्भावना रहेको छ ।

यसैगरी, विभागले एक महिनाअघि सार्वजनिक गरेको हावापानी आकलनअनुसार सुदूरपश्चिम र कर्णालीको दक्षिणी, लुम्बिनीका अधिकांश क्षेत्रमा सरदरभन्दा कम पानी पर्नेछ । गण्डकीको पूर्वी तथा दक्षिणी, बागमती, मधेसको पश्चिमी र कोशीको पश्चिमी भूभागमा पनि सरदरभन्दा कम पानी पर्ने विभागको आकलन छ ।

आगामी १६ फागुनसम्मको अवधिमा अर्थात् हिउँदयाममा खडेरी पर्ने सम्भवना देखिएको छ । विभागका अनुसार हिउँदमा ६० दशमलव एक मिलिमिटर वर्षालाई औसत मानिन्छ ।गत वर्ष पनि सरदरभन्दा कम वर्षाभएको विभागको तथ्याङ्कमा उल्लेख छ। गत वर्ष हिउँदमा सरदर १९ दशमलव आठमिलिमिटर र ०७९को हिउँदमा १२ दशमलव नौ मिलिमिटर मात्र पानी परेको विभागको तथ्याङ्कमा उल्लेख छ।

सुक्खा बढ्दा उत्पादनमा ह्रास आउने खतराबालीविद् डा डिल्लीराम शर्माले हिउँद सुरु भएयता आकाशेपानी पर्न नसकेकाले पहाड र तराई क्षेत्रमा लगाइएको गहुँ, तोरी तथा अन्य हिउँदे बालीलाई असर गरेको बताउनुभयो । “यसपटक विशेषगरी पहाड र तराईमा हिउँदे बालीका लागि मौसम प्रतिकूल रह्यो तर हिमाली क्षेत्रमा भने हिउँ परेकाले मौसम अनुकूल नै छ”, उहाँले भन्नुभयो, “तसर्थ विशेषगरी यो वर्ष तोरी र गहुँ जस्ता हिउँदे बाली उत्पादनमा कमी आउन सक्छ तर हिमालमा आलु उत्पादन भने बढ्न सक्छ ।”

जल तथा मौसम विज्ञान विभागले कम पानी पर्ने आकलनपछि कृषि मन्त्रालयले उत्पादनमा ह्रास आउँछ भने त्यसअनुसार पूर्वतयारी भने हुननसकेको जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीको भनाइ छ । “जल तथा मौसम विज्ञान विभागले कम पानी पर्ने प्रक्षेपण गरेको छ । कृषि मन्त्रालयले पनि हिउँदे बालीको उत्पादन घट्नसक्नो भनेको छ तर त्यसअनुसार पूर्वतयारी भने गरिएको देखिँदैन । पूर्वानुमानअनुसारको तयारी नगर्दा व्यवस्थापन गर्न नसकिने गरी सङ्कट आउनसक्छ । तसर्थ पूर्वतयारीमा जुट्न आवश्यक छ”, उहाँ भन्नुहुन्छ ।

डा उप्रेती हिउँदमा पानी नपरे नेपालको कृषि प्रणाली, जलवायु चक्र र अर्थ प्रणालीमा प्रत्यक्ष तथा गहिरो असर पर्ने भन्दै असर न्यूनीकरणका लागि आवश्यक नीति तय गर्न आग्रह गर्नुहुन्छ । “हिउँदमा लगातार सुक्खा र खडेरी परिरहँदा यसको असर समग्र खाद्य चक्र र मूल्यवृद्धिमा पर्छ । त्यसले खाद्य सङ्कट निम्तन सक्छ र अर्थतन्त्रमा समस्या सिर्जना हुनसक्छ”, उहाँले भन्नुभयो, “कृषिमा आश्रित किसान हिउँदे जलवायुमा आएको परिवर्तनले सबैभन्दा मारमा पर्नेछन् । यसले भोकमरी, गरिबी र अनियन्त्रित बसाइँसराइलाई थप बढाउन योगदान गर्छ । त्यसैले समयमै योजनाबद्ध ढङ्गले अगाडि बढौँ ।” रासस

ताजा अपडेट
TOP