

ललितपुर । नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन रहेको अध्ययनले देखाएको छ ।
नेपाल उद्योग परिसङ्घ (सिएनआई) र नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले संयुक्त रुपमा गरेको चालु आर्थिक वर्ष २०८१/८२ को बजेटको कार्यान्वयनको त्रैमासिक अवस्थामाथिको अध्ययनले विनियोजित बजेटमार्फत गरिएका सुधारका कार्यक्रम कार्यान्वयन नहुँदा बजेट खर्च हुन नसकेको र यसको प्रभाव पूर्वाधार निर्माण क्षेत्रमा परिरहेको देखाएको हो ।
पूर्वतयारी बिना योजना राख्दा काम हुन नसकेको, अघिल्लो सरकारले बजेट ल्याएको कारण सरकारले अपनत्व नलिएको, बजेटमै तोकिएका सुधारका कार्यक्रमहरू कार्यन्वयन नभएको लगायतका कारण पूर्वाधार क्षेत्रमा विनियोजित बजेट कार्यान्वयन हुन नसकेको अध्ययनले देखाएकाे छ ।
पूर्वाधार क्षेत्रमा वार्षिक करिब २० खर्ब बराबर लगानी आवश्यक रहेको १६औँ पञ्चवर्षीय आवधिक योजनामा उल्लेख छ ।
तर अहिले वार्षिक तीन खर्ब हाराहारी मात्रै पूर्वाधार क्षेत्रमा बजेट विनियोजन हुने र विनियोजन भएको रकम खर्च गर्न नसक्ने अवस्था छ ।
चालु आर्थिक वर्ष २०८०/८१ वर्षको बजेटमा उल्लेख भएका पूर्वाधारसँग सम्बन्धित ७ वटा बुँदामध्ये पहिलो चौमासिकमा जम्मा १ मात्र कार्यान्वयन भएको सिएनआई र सेजनको अध्ययन ‘बजेट वाच’ मा उल्लेख छ ।
चार वटा बुँदामा आंशिक रूपमा र दुई वटा बुँदा कार्यान्वयनको प्रगति शून्य रहेको देखिएको छ । रासस
प्रतिक्रिया