

काठमाडौँ । प्रजातन्त्र पुनःस्थापनापछिको आमनिर्वाचनमा बहुमत प्राप्त नेपाली कांग्रेस र सशक्त प्रतिपक्षका रूपमा रहेको नेपाल कम्युनिष्ट पार्टी एमालेबीच संसदमा देखिएको रस्साकस्सीलाई सन्तुलित बनाउन तत्कालीन सभामुख दमननाथ ढुङ्गानाले खेल्नुभएको तटस्थताको भूमिका नेपालको संसदीय अभ्यासमा अझै पनि खाँचो देखिएको छ ।
विसं २०४८ को प्रतिनिधिसभा निर्वाचनमा एक सय ११ सिटसहित कांग्रेस बहुमतमा थियो । सो पार्टीका सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार र एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नेतृत्वमा रहेको ६८ सिटसहितको प्रतिपक्षी दलबीच सदनमा हुने आरोपप्रत्यारोप र गरमागर्मी बहसलाई सन्तुलित तुल्याएकै कारण उहाँ प्रतिपक्षीले रुचाएको सभामुखका रूपमा स्थापित हुनुभयो ।
विभिन्न राजनीतिक दलका नेताहरूले करिब तीन वर्ष सभामुखको जिम्मेवारीमा रहँदा ढुङ्गानाले संसदीय लोकतान्त्रिक मूल्यमान्यतालाई सन्तुलित रूपमा स्थापित गराउन सशक्त भूमिका निर्वाह गर्नुभएको भनी स्मरण गर्नुभएको छ ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।
प्रतिक्रिया