

काठमाडौँ । महात्मागान्धीले कुनैबेला भनेका थिए, “लोकतन्त्रलाई प्रभावकारी बनाउन वास्तवमा तथ्यको ज्ञान होइन, सही शिक्षा चाहिन्छ ।” पक्कै पनि लोकतन्त्रलाई बलियो बनाउने अजेय शक्ति नागरिकमा हुन्छ । त्यसलाई जागृत गराउन ज्ञानका साथै सही शिक्षा आवश्यक हुन्छ । त्यस शिक्षाले कर्तव्यबोधको जागरण गराउँछ ।
विश्वव्यापी मान्यता नै हो-लोकतन्त्रमा कानुनका दृष्टिमा सबै नागरिक बराबर हुन्छन् । राज्यको शक्तिमा सबैको समान पहुँच हुन्छ । यस पद्धतिमा सबै नागरिकले वैधानिक स्वतन्त्रतालाई उपभोग गर्न पाउँछन् । स्वतन्त्रताको उपभोग गर्न पाउने व्यवस्था संविधानमा तोकिएको हुन्छ ।
लामो आन्दोलन र सङ्घर्षपछि जननिर्वाचित संविधानसभााबाट जारी भएको नेपालको संविधानले समानता र स्वतन्त्रतालाई मौलिक हकमा समाविष्ट गरेको छ । प्रतिनिधिमूलक लोकतन्त्रमा शासनको दायित्व जनताद्वारा निर्वाचित प्रतिनिधिले निर्वाह गरिहेको हुन्छ ।
नागरिकमा रहेको समानता र स्वतन्त्रताको हकलाई संरक्षण र प्रवद्र्धन गर्नु राज्यको दायित्व हो । मानवता र स्वतन्त्रताको जगमा रहने लोकतन्त्र वा प्रजातन्त्र उत्तरदायित्व र जवाफदेहीताबाट पनि सजिएको हुन्छ ।
नागरिकका हक, अधिकार र उत्तरदायित्व तथा सरकारका काम एवं जवाफदेहीतामा आमरुपमा कसरी ज्ञान, सूचना र शिक्षा प्रवाह भइरहेको हुन्छ अहिले संविधान र लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरु यस संविधान र व्यवस्थालाई बदनाम गराउन लागेका छन्, त्यसको कारणमा बाह्य र आन्तरिक पक्षहरु होलान् तर देशका जिम्मेवार दलहरुले यस्ता विषयमा मौन बस्न मिल्दैन ।
उनीहरु सत्ताको जिम्मेवारीमा रहे पनि, नरहे पनि जनतालाई सेवा र सुशासन दिने दायित्वका साथै जनतालाई भड्काउन भइरहेका अराजक गतिविधिप्रति सचेत गराउन निरन्तर लाग्नुपर्छ । अराजक एवं कानुन विपरीतका गतिविधि नियन्त्रण गर्न सरकारलाई साथ दिनुपर्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नु भएको छ, “नेपाललाई एउटा गणतान्त्रिक देश रहन नदिने, नेपालमा शान्ति, सुव्यवस्था, ‘ल एण्ड अर्डर’ कायम रहन नदिने, सुशासनको एउटा व्यवस्थित मार्ग समातेको देशको रुपमा नेपाललाई अगाडि बढ्न नदिने प्रयासहरु भइराखेका छन् ।”
प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीका यस्ता गम्भीर चिन्तालाई मनन् गरेर एमालेको काठमाडौँ उपत्यकास्थित जिल्लाका कमिटीले ७ मङ्सिर, २०८१ का लागि काठमाडौँको दरबारमार्गमा जागरणसभा गरेका छन् ।
यतिबेला एमाले र यसको नेतृत्वका विरुद्धमा अनेकखाले अनर्गल, भ्रमपूर्ण, प्रायोजित समाचारहरु सम्पेषण गरी पार्टी, यसको नेतृत्व र नीतिमाथि चौतर्फी हमला गर्ने प्रयास भइरहेको छ ।
विधिको शासनविपरीत विभिन्न स्वार्थी समूह र व्यक्तिका नाममा अस्थिरता र अराजकता सिर्जना गरी हाम्रो स्थापित लोकतान्त्रिक विधि, पद्धति, सुशासनका पक्षमा भएका न्यायिक छानबिन, अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियालाई आआफ्ना पक्षमा पार्ने धुमिल कोसिस भइरहेका छन् । कालान्तरमा व्यवस्थाका विरुद्ध नै धावा बोल्ने दुष्प्रयत्न भइरहेको छ ।
नेपाली जनताको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई सफल हुनै नदिने भनेर लागेका कतिपय शक्तिहरुलाई सबै माध्यमबाट खबरदारी गर्नुपर्ने अवस्था त्यसै आएको होइन । यो विशेष अवस्था हो ।
कोही लहलहैमा लागेर पनि अराजकता मच्याउन तम्सिएका हुन् सक्छन्, त्यस्ताहरुलाई लागि खबरदारी झनै आवश्यक छ । उनीहरुमा जागरण सिर्जना गरेर सबैलाई देश विकासको मूलधारमा हिँडाउन अत्यावश्यक छ ।
राजनीतिका नाममा झुट, भ्रम, षड्यन्त्र र तिकडमको सहारा होइन, इमान, नैतिकता, स्वच्छता र देशको स्वाधीनताका पक्षमा सुस्पष्ट हुनुपर्छ भन्ने अठोटलाई पनि जागरणसभाले थप बोध गराउनेछ ।
सत्य कुरालाई रोक्ने र असत्यलाई बढावा दिने तथा असत्यको डम्फु बजाउनेहरुलाई कुनै मेहनत र काम गर्नु पर्दैन । उनीहरुले कामको निन्दा गरे पुग्छ । सरकार र नेतृत्वको विरोध गरे पुग्छ । कामको उल्टो प्रचार गरिदिने काम गरेर आफू चर्चामा आउने गलत नियम उनीहरुमा रहेको हुन्छ ।
सडक बाटो बनेन भने किन बनाएन भन्ने र बन्यो भने भ्रष्टाचार गर्न बनाएको हो, जनताका लागि बनाएको होइन भनेर कुप्रचार गर्नेहरु पनि समाजमा छन् । एउटाले बनाएको छ भने अर्कैले बनाएको हो भनेर भ्रम फैलाउनेहरु पनि छन् ।
यस अवस्थामा एमालेले राजनीतिक अस्थिरता र अराजकताका विरुद्ध, विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्न, अग्रगामी सोच र स्पष्ट गन्तव्यलाई प्रष्ट पार्न, वर्तमान संयुक्त सरकारले गरेका काम, उपलब्धि र आगामी योजनाका बारेमा जनतालाई स्पष्ट गर्न, सुशासन, विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व कायम गर्न, संवैधानिक, कानुनी र संरचनागत सुधारको प्रक्रिया अघि बढाउन आवश्यक छ ।
लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास गर्ने एउटा जिम्मेवार पार्टीले सरकारमा हुँदा वा नहुँदा पनि जनतासँग जोडिने यस्ता खालका कार्यक्रम गर्न सक्छ । सरकारकै नेतृत्वमा रहेको पार्टीले सडकमा शक्ति प्रदर्शन गर्न लाग्यो भनेर पनि कतिपय विश्लेषण आएको छ, त्यस्तो होइन । यो सरकारकै राम्रा कामबारे स्पष्ट पार्न र सरकार तथा देश बनाउने मुख्य दलका साझा ध्येयलाई सघाउने जागरणसभा हो । अराजकताविरुद्ध र विधिका पक्षको जागरणसभा हो ।
गौरवशाली इतिहास भएको नेकपा एमालेले मुलुकको राष्ट्रिय हित, स्वाभिमान र स्वाधीनताको पक्षपोषण गर्दै राजनीतिक स्थायित्व, लोकतान्त्रिक पद्धति, विधिको शासन र कानुनी राजको पक्षमा आफ्नो दृढता प्रस्तुत गर्दै आएको छ ।
सुशासन, विकास र समृद्धिलाई मुख्य आधार बनाएर ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्दै समाजवादको आधार निर्माण गर्नुलाई यसले मुख्य उद्देश्य लिँदै आएको छ ।
नेपाल राष्ट्रको पुनःनिर्माण, स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता, स्वाभिमान र अखण्डताको रक्षा तथा जनताको विकास र समृद्धिका लागि एमाले अविचलित देखिन्छ ।
एमाले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रतिनिधि संस्था मात्र होइन, प्रमुख राष्ट्रिय शक्तिका रुपमा स्थापित छ । यसलाई प्रमुख निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने उसको लक्ष्य छ । जनबल र जनसमर्थनका आधारमा राष्ट्र र जनताको नेतृत्व गर्दै स्वाधीन, समृद्ध, समुन्नत एवं समाजवादोन्मुख नेपाल राष्ट्रको निर्माणको उद्देश्य पूरा गर्न एमाले दृढ सङ्कल्पित देखिन्छ । रासस
प्रतिक्रिया