logo
बिहीबार, २६ असार २०८२

आरोग्य पर्यटनः गन्तव्य नेपाल

आरोग्य पर्यटनः गन्तव्य नेपाल

 

 

काठमाडौँ । अहिले संसारमा आरोग्य उद्योग अत्यन्तै फस्टाएको छ । शरीर स्वस्थ राख्ने उपायका बारेमा लेखिएका पुस्तक, शारीरिक व्यायामका उपकरणहरू, विभिन्न प्रकारका सौन्दर्य प्रसाधन, विभिन्न प्रकारका अतिरिक्त पौष्टिक तत्व तथा शारीरिक व्यायाम सिकाउने कक्षा सबै आरोग्य उद्योगका अङ्ग हुन्, जसमा संसारभरिका मानिस खर्बौं डलर खर्च गर्न तत्पर छन् ।

तर वास्तविक आरोग्यका लागि मनको सुख, मनको आनन्द, अनि शरीर र मस्तिष्कको स्वस्थता र आनन्द आवश्यक पर्दछ, जुन इन्द्रीयको प्रयोगका साथै योग र ध्यानबाट मात्र प्राप्त हुन्छ ।

नेपाल ध्यानको उद्गम बिन्दु हो । योगको आविष्कार पनि हाम्रै वरिपरि भएको हो । वैदिककालमै हाम्रा ऋषिमुनिहरूले योग र ध्यानको आविष्कार गरेका थिए । योग, ध्यान, हाम्रो प्रकृति, संस्कृति, व्यवहार, उत्पादन, जडीबुटीलगायत वन पैदावार र जैविक विविधता सबै आरोग्य प्राप्तिका लागि सहायक तत्व हुन् । जसलाई एउटै शृङ्खलामा आबद्ध गरी आरोग्य पर्यटनको विकास र प्रवर्द्धन गर्न सक्दछौँ र नेपाल आरोग्य पर्यटनका लागि नमुना मुलुक हो भनेर संसारलाई चिनाउन सक्दछौँ ।

त्यसैले हामीले हाम्रो पर्यटनको ब्राण्डिङ गर्नुपर्ने मूल तत्व हो-आरोग्य । नेपालमा उपलब्ध सम्पूर्ण स्रोत र साधनलाई आरोग्यतर्फ लक्षित गरी आरोग्य पर्यटनका लागि नेपाल विश्वको अग्रणी मुलुक हो भनेर स्थापित गर्न सक्नुपर्दछ ।

प्रत्येक मानिस आरोगी वा स्वस्थ हुन चाहन्छ । सामान्य अर्थमा आरोग्य भन्नाले कुनै किसिमको रोग नभएको र आन्तरिक ऊर्जाले भरिभराउ भन्ने बुझिन्छ । तर, कस्तो रोग नभएकोलाई आरोग्य भन्ने त ? मैले कुनै पनि प्रकारको औषधि सेवन गर्नु पर्दैन, मैले अहिलेसम्म कुनै चिकित्सक वा स्वास्थ्यकर्मीको सेवा लिनुपरेको छैन, म आजसम्म कुनै अस्पताल वा स्वास्थ्य केन्द्रमा जानुपरेको छैन, त्यसैले म आरोगी हो भनेर कसैले भन्न सक्दछ । तर, यो शारीरिक निरोगिता मात्र हो । वास्तविक आरोग्य प्राप्त गर्न शरीर मात्र स्वस्थ भएर हुँदैन, व्यक्तिको मन, मस्तिष्क, शरीर, वचन र कर्म नै स्वस्थ हुनुपर्दछ, उसको भावना र चेतना स्वस्थ हुनुपर्दछ ।

आरोग्य के हो ?

आरोग्य बहुआयामिक विषय हो । आरोग्यका आयामहरू शारीरिक, मानसिक, वातावरणीय, सामाजिक, भावनात्मक र आध्यात्मिक हुन्छन् । मानिसलाई आरोगी हुन यी सबै आयामको सन्तुलन आवश्यक पर्दछ । यी आयामहरूले मानिसलाई तीन वटा तापबाट मुक्त हुन सहयोग गर्दछन् । तीनवटै ताप छैन भने मानिस स्वतः आनन्दित हुन्छ, अनि यसरी आनन्दित मानिस नै आरोगी हुन्छ । तसर्थ आनन्दको बाहिरी प्रकट रूप नै आरोग्य हो ।

आरोग्य पर्यटनको सम्भावना :

पर्यटन विकासका लागि कुनै एउटा ‘ब्राण्ड’ हुनु जरूरी छ । हालसम्म हामीले प्रकृतिलाई मात्र अघि सार्दै आयौँ । नेपालको प्राकृतिक सौन्दर्य र सामाजिक-सांस्कृतिक सम्पदालाई नै पर्यटनको मूल स्रोतका रूपमा प्रचारप्रसार गर्दै आयौँ । तर, कुनै मूल तत्व अर्थात् ‘ब्राण्ड’लाई भने आधार बनाएनौँ । हामीले नेपालको पर्यटनको साँच्चिकै विकास गर्ने हो भने एउटा ‘ब्राण्ड’ आवश्यक हुन्छ, जुन आरोग्य हो ।

विश्वमा आरोग्य अर्थतन्त्रको आकार बर्सेनि बढ्दो क्रममा रहेको छ । ग्लेबल वेल्नेस् इन्ष्टितच्युटले प्रकाशन गरेको ‘दि वेल्नेस भकोनोमी : कन्ट्री ¥याङ्किङ’ का अनुसार सन् २०२२ मा विश्वको आरोग्य अर्थतन्त्र ५.६ ट्रिलियन अमेरिकी डलर बराबर पुगेको थियो, जुन सन् २०१४ मा ३.४ ट्रिलियन अमेरिकी डलरको मात्र थियो । यसरी आठ वर्षको अवधिमा आरोग्य अर्थथन्त्रको आकार ६४ प्रतिशतले बढेको देखिन्छ । अर्थतन्त्रको आकार बढेसँगै आरोग्य प्राप्तिका लगि गरिने प्रतिव्यक्ति खर्चमा पनि वृद्धि भएको छ । सन् २०२२ मा यस्तो खर्च ७०६ अमेरिकी डलर पुगेको थियो, जुन प्रतिव्यक्ति स्वास्थ्य सेवामा गरिने खर्च ७११ अमेरिकी डलर कै हाराहारीमा रहेको थियो । अझ उत्तर अमेरिकाको प्रतिव्यक्ति आरोग्य खर्च ५,१०८ अमेरिकी डलर पुगेको छ । यसबाट आरोग्य व्यवसाय र उद्योगको विस्तार व्यापक रूपमा भइरहेको देखिन्छ ।

आरोग्य अर्थतन्त्रमा सबैभन्दा बढी योगदान व्यक्तिगत हेरचाह र सौन्दर्य अमेरिकी डलर १,०८९ अर्ब को छ । त्यसपछि क्रमशः स्वस्थकर खाना, पौष्टिकता र वजन कम गर्न अमेरिकी डलर १,०७९ अर्ब, शारीरिक व्यायाम अमेरिकी डलर ९७६ अर्ब, आरोग्य पर्यटन अमेरिकी डलर ६५१ अर्ब, जनस्वास्थ्य, निरोधात्मक र औषधि अमेरिकी डलर ६११ अर्ब, परम्परागत र निःशुल्क औषधि अमेरिकी डलर ५१९ अर्ब र आरोग्य घरजग्गा व्यवसाय अमेरिकी डलर ३११ अर्ब को रहेको छ ।

नेपालको आरोग्य अर्थतन्त्रको आकार निकै सानो छ । ग्लोबल वेल्नेस इन्टिच्युटका अनुसार विश्वका १४३ मुलुकमध्ये नेपाल आरोग्य अर्थतन्त्र सूचकाङ्कको ९१औँ स्थानमा छ । सन् २०२२ मा नेपालको आरोग्य अर्थतन्त्रको आकार २.०२ अर्ब अमेरिकी डलरको थियो । यसमा माथि उल्लेख गरिएका सबै प्रकारका खर्च पर्दछन् ।

नेपालमा उपलब्ध आरोग्य पर्यटनका वस्तु र सेवाले आरोग्यका अन्य आयामहरूमा गरिने खर्चलाई उल्लेख्य रूपमा घटाउन मदत गर्दछन् । हामीले यसको ब्राण्डिङ, प्रवद्र्धन र पर्याप्त प्रचारप्रसार गर्न सक्यौँ र सोही अनुसारको सेवा प्रदान गर्न सक्यौँ भने नेपाल आरोग्य पर्यटनको विश्वव्यापी ‘हब’ बन्न सक्दछ । यसबाट नेपाल समृद्ध हुने त छँदैछ, विश्वभरका मानिसलाई आरोगी बनाउन उल्लेख्य भूमिका खेल्न सकिन्छ । रासस

TOP